ललितपुर – जग्गाको बकसपत्र गराइदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय ललितपुरका तीन जना नायब सुब्बा र दुई जना लेखापढी व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल रहेका छन्।
अख्तियारका अनुसार उनीहरूले आपसी मिलेमतोमा जग्गाको बकसपत्र प्रक्रिया अघि बढाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिएर घुस मागेको भन्ने उजुरी प्राप्त भएको थियो। सोही उजुरीका आधारमा आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले साउन १५ गते ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेकाहरूबाट सेवाग्राहीसँग घुसबापत लिएको तीन लाख रुपैयाँ नगद तथा स्रोत नखुलेको थप २४ हजार ८९० रुपैयाँ बरामद गरिएको छ।
घटनामा संलग्न पाँचै जनामाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
