काठमाडौँ । नेकपा एमालेभित्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्व परिवर्तनबारे आन्तरिक छलफल तीव्र भएको चर्चा सुरु भएको छ। यसअघि उनलाई मुख्यमन्त्रीमा निरन्तरता दिने समझदारी बनेको भनिए पनि पछिल्लो समय नेतृत्व परिवर्तनको तयारी भइरहेको दाबी गरिएको छ।
पार्टी स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश इन्चार्ज तथा पार्टी सचिव शेरधन राईलाई मुख्यमन्त्री कार्कीसँग आवश्यक छलफल गरी नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। राई पछिल्ला दुई दिनदेखि विराटनगरमा रहेर यस विषयमा सक्रिय रहेको बताइएको छ।
स्रोतका अनुसार राईले विराटनगरस्थित एक होटलमा मुख्यमन्त्री कार्कीसँग करिब दुई घण्टा छलफल गर्दै अध्यक्ष ओलीको सन्देश सुनाएका थिए। छलफलका क्रममा राईले कार्कीलाई राजीनामा दिन आग्रह गरे पनि उनले त्यसलाई अस्वीकार गरेको बताइएको छ।
मुख्यमन्त्री कार्कीले आफू नेपालको संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएकाले राजीनामा दिए संवैधानिक जटिलता उत्पन्न हुन सक्ने धारणा राखेको स्रोतले जनाएको छ। उनले यस विषयमा पार्टी सचिवालयबाट औपचारिक निर्णय हुनुपर्ने अडान पनि लिएको बताइएको छ।
एमालेभित्र सञ्चालन भइरहेको पुनर्गठन अभियानमा कार्की सहभागी भएको विषयलाई समेत नेतृत्व परिवर्तनको एउटा कारणका रूपमा हेरिएको स्रोतको दाबी छ। सो अभियानमा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरू जोडिएको चर्चा चलेको थियो। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल भने यसअघि नै पदबाट बाहिरिसकेका छन्।
यद्यपि एमालेका केही पदाधिकारीले प्रदेश सरकारको स्थायित्व र संवैधानिक अवस्थालाई ध्यानमा राख्दै कोशीका हिक्मतकुमार कार्की र लुम्बिनीका चेतनारायण आचार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।
स्रोतका अनुसार अध्यक्ष ओली विदेश भ्रमणबाट फर्किएपछि कोशी प्रदेशका सांसदहरूसँग समेत छलफल अघि बढाएका छन्। यदि मुख्यमन्त्री कार्कीले राजीनामा नदिए बहुमत जुटाएर नेतृत्व परिवर्तन गर्ने विकल्पमा पनि एमाले नेतृत्वले गृहकार्य गरिरहेको बताइएको छ।
यस विषयमा भने नेकपा एमाले नेतृत्वले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
