• Monday 5th of October 2026

ब्रड पिक दुर्घटनाअघि निर्मल ‘निम्सदाइ’ पुर्जाको टोलीको अन्तिम तस्बिर सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौ । पाकिस्तानको ब्रड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा नेतृत्वको टोलीको दुर्घटनाअघिको अन्तिम तस्बिर सार्वजनिक भएको छ।

पाकिस्तानस्थित पर्वतीय पर्यटन कम्पनी काराकोरम भिजन (Karakoram Vision) ले आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेको तस्बिर र भिडियोमा निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली ब्रड पिकतर्फ उक्लिरहेको देखिन्छ। कम्पनीका अनुसार उक्त दृश्य दुर्घटना हुनुभन्दा केही क्षणअघि बेस क्याम्पबाट खिचिएको थियो।

काराकोरम भिजनले पोस्टमा लेखेको छ, “हामी बेस क्याम्पबाट हेरिरहेका थियौं। विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स’ पुर्जासहित १० जना अन्तर्राष्ट्रिय आरोही माथितर्फ उक्लिरहेका स्पष्ट देखिन्थे। त्यसैबेला उनीहरूमाथिबाट ठूलो हिमपहिरो खस्यो। हिउँ पन्छिएपछि हामीले माथि हेर्दा कसैलाई पनि देख्न सकेनौं। यो ब्रड पिकको ठूलो त्रासदी हो।”

सार्वजनिक भिडियोमा हिमालको माथिल्लो भागबाट विशाल हिमपहिरो खस्दै सम्पूर्ण क्षेत्र ढाकेको देखिन्छ। भिडियोमा बेस क्याम्पमा रहेकी एक महिलाले “ओह माइ गड!” भन्दै प्रतिक्रिया दिएको तथा हिमपहिरो क्याम्पसम्म आइपुग्ने हो कि भन्ने चिन्ता व्यक्त गरेको आवाज पनि सुनिन्छ।

पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो Broad Peak मा गत जुलाई ३० मा गएको हिमपहिरोपछि निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको थियो। त्यसपछि उद्धार तथा खोजी अभियान सञ्चालन गरिए पनि पछि एलिट एक्सपिडले निर्मल पुर्जाको निधन भएको पुष्टि गरेको थियो।

दुर्घटनाभन्दा केही दिनअघि निर्मल पुर्जाले सामाजिक सञ्जालमार्फत ब्रड पिक आरोहण आफ्नो प्रारम्भिक योजना नभएको उल्लेख गर्दै अक्सिजनबिना विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल दोस्रो पटक आरोहण गर्ने पहिलो व्यक्ति बन्ने लक्ष्यतर्फ आफू अघि बढिरहेको बताएका थिए। अहिले उनको उक्त सन्देश समर्थकहरूका लागि अन्तिम प्रेरणादायी अभिव्यक्तिका रूपमा स्मरण भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖