• Monday 5th of October 2026

सुस्तामा बाँध भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा विवाद


  • धनकुटा खबर
  • .

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा विवाद उत्पन्न भएको छ।

सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रवीन्द्र जैसवालका अनुसार स्थानीयवासीले वर्षायाममा आउने पानीको बहाव रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण सुरु गरेका थिए। आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबीच विवाद भएको उनले बताए।

उनका अनुसार दुई पक्षबीच यसअघि भएको सहमतिअनुसार नेपाली पक्षले १३२ मिटर क्षेत्रमा वर्षाको भेल रोक्न माटो राखेको थियो। तर भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोसाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरी बाँध भत्काएको आरोप स्थानीयले लगाएका छन्।

स्थानीयवासीका अनुसार सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा निर्माण भइरहेको १३२ मिटर लामो कच्ची बाँध भत्काइएपछि स्थानीयले त्यसको विरोध गरेका थिए।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले वर्षाको भेल रोक्न बनाइएको अस्थायी बाँधका विषयमा विवाद भएको पुष्टि गरेका छन्। उनले स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल परिचालन गरिएको र हाल अवस्था सामान्य रहेको बताएका छन्।

यस्तै, ‘सुस्ता बचाउ युवा अभियान’का संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी सीमा संकेतका रूपमा रहेको सिमलको रूखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरी बाँध भत्काएको दाबी गरेका छन्।

यसअघि पनि गत असारमा भारतीय सुरक्षाकर्मीले सुस्ता क्षेत्रमा पुगेर बाँध निर्माण रोक्न दबाब दिएको भन्दै स्थानीयले विरोध गरेका थिए। सुस्ता क्षेत्र नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖