काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले दिवंगत पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जासँग जोडिएको भावुक स्मृति सार्वजनिक गरेका छन्। उनले निर्मल पुर्जाले आफ्नै हस्ताक्षरसहित उपहार दिएको किताब तीन दिनदेखि खोजिरहेको बताउँदै भेटिए त्यसको तस्बिर सार्वजनिक गरेर श्रद्धाञ्जली अर्पण गर्ने इच्छा व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आएको केही दिनपछि निर्मल पुर्जा राष्ट्रिय आविष्कार केन्द्रमा आएको स्मरण गरेका छन्। उनका अनुसार त्यसबेला पुर्जाले किताबमा ‘चुनावमा विजयी भएकोमा बधाई छ दाइ’ भनेर हस्ताक्षर गर्दै उपहार दिएका थिए।
पुनका अनुसार उक्त किताब उनले राष्ट्रिय आविष्कार केन्द्रमै राखेका थिए। पछि केन्द्रका अन्य सदस्यहरूले पनि किताब पढेका थिए। कसैले पढ्नका लागि घर लगेका हुन् कि भनेर सबैसँग सोधपुछ गर्दा पनि हालसम्म किताब फेला नपरेको उनले बताएका छन्। कुनै शुभेच्छुकले अनजानमै लगेको हुन सक्ने अनुमान गर्दै उनले कुनै दिन किताब अवश्य भेटिने आशा व्यक्त गरेका छन्।
महावीर पुनले निर्मल पुर्जाले सुरुदेखि नै राष्ट्रिय आविष्कार केन्द्रलाई विभिन्न रूपमा सहयोग गर्दै आएको स्मरण गर्दै उनको सम्मान र स्मृतिलाई जीवित राख्ने गरी कुनै अर्थपूर्ण काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
साथै, हालैको दुःखद दुर्घटनामा ज्यान गुमाएका निर्मल ‘निम्सदाइ’ पुर्जासहित अन्य पर्वतारोहीहरूप्रति पुनले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
