काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’ अभियानलाई पार्टी निर्माणको महत्त्वपूर्ण अभियानका रूपमा अघि बढाउँदै सबै पालिकामा प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन्।
प्रदेश कमिटीका पदाधिकारी र ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँग भर्चुअल बैठक गर्दै महासचिव पोखरेलले पार्टी र जनताबीचको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सुरु गरिएको अभियानलाई सफल बनाउन पार्टी कमिटीसँगै जनसंगठनहरूलाई पनि सक्रिय रूपमा परिचालन गर्न आग्रह गरे।
उनले अभियानलाई पालिका तहसम्म प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधि परिचालन गरिएको जानकारी दिँदै वर्ग, समुदाय र विभिन्न पेसागत क्षेत्रलाई समेटेर पार्टी विस्तार गर्न सुझाव दिए।
पोखरेलले पार्टी सुदृढीकरणका लागि विचार, संगठन र नेतृत्वको पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवादलाई थप समृद्ध बनाउने दिशामा पार्टी अघि बढिरहेको बताए।
उनले स्थानीय तहका पार्टी कमिटीलाई चलायमान बनाउन पुनर्गठन, रिक्त पदपूर्ति र संगठन विस्तारका कामलाई प्राथमिकता दिन निर्देशन दिए।
युवा सहभागिता बढाउन विगतमा ल्याइएका नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले जागरण अभियानलाई व्यवहारमुखी बनाउनुपर्नेमा जोड दिए।
पार्टीलाई नयाँ ढंगले अघि बढाउन एकता, सुधार र रूपान्तरणलाई संस्थागत निर्णयमार्फत अगाडि बढाइने स्पष्ट पार्दै उनले सदस्यता नवीकरण अभियानलाई पनि सफल बनाउन सबै तहका कमिटीलाई सक्रिय हुन आग्रह गरे।
बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै महासचिव पोखरेलले शासकीय अनुभव नभएका व्यक्तिहरू सरकारमा पुगेका कारण मुलुक संकटतर्फ उन्मुख भएको दाबी गरे। साथै, सरकार पूर्वाग्रह र प्रतिशोधको भावनाबाट सञ्चालन भइरहेको तथा कानुनी प्रक्रियालाई बेवास्ता गर्दै स्वेच्छाचारी शैली अपनाइरहेको आरोप लगाए।
उनले आवश्यक परे पार्टी सडक आन्दोलनमा समेत जान सक्ने उल्लेख गर्दै त्यसका लागि मातहतका सबै कमिटीलाई तयारी अवस्थामा रहन निर्देशन दिए।
बैठकमा एमालेका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी सदस्यता नवीकरण अभियानको प्रारम्भिक प्रगति उत्साहजनक रहेको जानकारी दिएका थिए। प्रदेश अध्यक्षहरूले पनि ‘मिसन पार्टी जागरण’ अभियान, सदस्यता नवीकरण तथा संगठनात्मक गतिविधिबारे रिपोर्ट प्रस्तुत गरेका थिए।
