काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परेका कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित चार जना आरोहीको शव सङ्कलन गरी बेस क्याम्पमा ल्याइएको छ।
निम्स दाइका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट यसको पुष्टि गरेका हुन्। उनका अनुसार निर्मल पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्त चुनौतीपूर्ण र जोखिमपूर्ण उद्धार अभियानपछि सुरक्षित रूपमा बेस क्याम्पमा ल्याइएको हो।
उद्धार अभियान कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच सञ्चालन गरिएको थियो। अभियानको नेतृत्व वरिष्ठ आरोही मिङ्मा जीले गरेका थिए भने उनलाई सिरबाज खान तथा फिल्डमा खटिएको उद्धार टोलीले सहयोग गरेको बताइएको छ।
उद्धार टोलीले जोखिमपूर्ण हिमाली क्षेत्रमा निरन्तर प्रयास गर्दै शवहरू बेस क्याम्पसम्म ल्याउन सफल भएको जनाएको छ।
