• Monday 5th of October 2026

बेलायतमा हुनेछ निम्स दाइको अन्तिम बिदाइ, लन्डनमै गरिने अन्त्येष्टि


  • धनकुटा खबर
  • .

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतमा गरिने भएको छ।

साउन १४ गते ब्रोड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी निधन भएका पुर्जा १० सदस्यीय आरोही टोलीको नेतृत्व गरिरहेका थिए। उनको परिवार बेलायतको लन्डनमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि पनि त्यहीँ गरिने तयारी गरिएको छ।

पुर्जाको शव साउन १७ गते पहिचान भए पनि प्रतिकूल मौसम र शव अत्यन्त जोखिमपूर्ण स्थानमा रहेकाले उद्धारमा ढिलाइ भएको थियो। बुधबार मात्रै उद्धार टोलीले शव सुरक्षित रूपमा बेसक्याम्पमा ल्याउन सफल भएको हो।

पुर्जाका दाजु कमलबहादुर पुर्जाका अनुसार अन्त्येष्टि लन्डनमा सम्पन्न गरिनेछ। त्यसपछि जन्मस्थान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र बाल्यकाल बिताएको चितवनमा पनि उनको सम्झनामा विशेष कार्यक्रम आयोजना गरिनेछ।

उनले परिवारका सदस्यको सहजतालाई ध्यानमा राखेर अन्त्येष्टिको तयारी भइरहेको बताउँदै आवश्यक कानुनी प्रक्रिया पूरा गर्न केही समय लाग्ने जानकारी दिए।

निम्स दाइको कम्पनी एलिट एक्सपिडिसनले जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जा, निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव कठिन उद्धार अभियानपछि सुरक्षित रूपमा बेसक्याम्पमा ल्याइएको छ। ती शव शुक्रबार राति वा शनिबारसम्म लन्डन पुर्‍याइने अपेक्षा गरिएको छ।

उद्धार अभियानमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, ब्रिटिस हाइ कमिसन, गिल्गिट–बाल्टिस्तान सरकार, नेपाल दूतावास र अल्पाइन क्लब अफ पाकिस्तानको समन्वय रहेको कम्पनीले जनाएको छ।

सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमार्फत ब्रिटिस सेनामा छनोट भएका पुर्जाले बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभूत सैनिक तालिम पूरा गरेका थिए। त्यसपछि उनले क्विन्स गोर्खा इन्जिनियर्समा सेवा गरेका थिए।

पछि बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विशेषज्ञका रूपमा कार्यरत रहँदा उनले ‘गोर्खा एक्सपिडिसन २०१७’ अन्तर्गत १३ जना ब्रिटिस गोर्खाको सगरमाथा आरोहण अभियानको नेतृत्व गरेका थिए।

सगरमाथा आरोहणका क्रममा जोखिममा परेका एक आरोहीको सफल उद्धार गरेपछि उनी प्रतिष्ठित एमबीई (MBE) सम्मान प्राप्त गर्ने पहिलो नेपाली बनेका थिए।

निर्मल पुर्जाले अतिरिक्त अक्सिजनको प्रयोग नगरी ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। पाकिस्तानको केटु हिमालमा पनि उनले दुर्लभ कीर्तिमान बनाएका थिए। उनका नाममा १८ वटा गिनिज वर्ल्ड रेकर्ड दर्ता छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖