• Thursday 8th of October 2026

चिनियाँ सिमानाका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

जोमसोम (मुस्ताङ) । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराए ।

“मुुस्ताङको कोरलालगायत नाकाको सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ,” उनले भने, “कोरला नाकाको नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने मेरो भ्रमणका क्रममा सहमति भएको थियो ।”

प्रधानमन्त्री दाहालले कार्यक्रमअघि हेलिकप्टरबाट कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ र गत साउनको बाढीले क्षति पुगेको कागबेनी निरीक्षण गरे । कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिलाई पूर्णता दिन सरकारले प्राथमिकता दिएको पनि उनले बताए ।

नेपालको प्रमुख चुनौतीका रूपमा रहेको भ्रष्ट्राचारविरुद्ध सरकारले थालेको सुशासनको अभियान नरोकिने पनि प्रधानमन्त्री दाहालले बताए । गठबन्धनले पाँचै वर्ष सरकार चलाउने बताउँदै उनले सत्ता बाहिर रहँदा केही नेताहरुलाई छटपटी भएकोसमेत टिप्पणी गरे ।

प्रधानमन्त्री दाहालसमक्ष स्थानीयले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्या समाधान गर्न माग गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖