काठमाडौँ । नेपाल वायुसेवा निगमले जापानमा उडान संख्या थप्ने भएको छ। यात्रुहरूको बढ्दो माग र नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै निगमले काठमाडौँ–नारिता–काठमाडौँ उडान सातामा चार दिन सञ्चालन गर्ने निर्णय गरेको हो।
निगमले सेप्टेम्बर १८ देखि लागू हुने गरी नयाँ उडान तालिका सार्वजनिक गरेको छ। नयाँ तालिकाअनुसार जापान उडान मङ्गलबार, बिहीबार, शुक्रबार र आइतबार सञ्चालन हुनेछन्। हाल उक्त गन्तव्यमा सातामा तीन वटा मात्र उडान हुँदै आएको छ।
यसैबीच, नेपाल वायुसेवा निगमको एयरबस वाइडबडी ‘अन्नपूर्ण’ विमान चौथो सी–चेक सम्पन्न गरी स्वदेश फर्किएको छ। काठमाडौँ–दुबई नियमित उडानमा रहेको उक्त विमान ७ जुलाई २०२६ मा इटाली पठाइएको थियो।
विस्तृत प्राविधिक मर्मतपछि विमान ६ अगस्ट २०२६ मा काठमाडौँ अवतरण गरेको निगमले जनाएको छ। हाल विमान पुनः नियमित व्यावसायिक उडानमा सञ्चालनमा आइसकेको छ।
सी–चेक विमानको निर्धारित अवधिमा गरिने महत्त्वपूर्ण तथा विस्तृत प्राविधिक मर्मत प्रक्रिया हो, जसअन्तर्गत विमानका विभिन्न संरचना, इन्जिन, प्रणाली र उपकरणहरूको विस्तृत परीक्षण तथा मर्मत गरिन्छ।
त्यसैगरी, सेप्टेम्बरदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु हुने फ्लाई दुबईको नियमित उडानका लागि नेपाल वायुसेवा निगमले उपलब्ध गराउने ग्राउन्ड ह्यान्डलिङ अर्थात् स्थलगत सेवा व्यवस्थापनको तयारी पनि पूरा भएको जनाएको छ।
