• Monday 5th of October 2026

प्रहरीको ‘गुण्डा नाइके’ सूचीमा रहेका ५ मध्ये ४ ले पाए सफाइ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले ‘गुण्डा नाइके’को सूचीमा राख्दै एक दशकअघि सम्पत्ति शुद्धीकरण मुद्दा चलाएका पाँच जनामध्ये चार जनाले अदालतबाट सफाइ पाएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा दीपक मनाङे, गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलन भनिने मिलन गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतले सबैलाई सफाइ दिएपछि सरकारी पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। पछिल्लो पटक सर्वोच्च अदालतले चक्रे मिलन र गणेश लामालाई समेत सफाइ दिएसँगै पाँचमध्ये चार जनाको मुद्दा टुंगिएको हो।

चक्रे मिलन र गणेश लामाले पाए सफाइ

सर्वोच्च अदालतले चक्रे मिलन भनिने मिलन गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गरेको छ। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासले गुरुङलाई सफाइ दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले गुरुङसँग करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको दाबी गरेको थियो।

त्यस्तै, नेपाली कांग्रेसका नेता गणेश लामाले पनि सर्वोच्चबाट पूर्ण सफाइ पाइसकेका छन्। विशेष अदालतले २०७५ सालमा लामालाई एक वर्ष कैद र १ करोड ४० लाख रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो। तर, २०८१ असार ९ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले उक्त फैसला उल्टाउँदै लामालाई निर्दोष ठहर गरेको थियो।

विभागले लामाविरुद्ध करिब २७ करोड रुपैयाँ अवैध रूपमा आर्जन गरेको दाबी गरेको थियो।

पर्शुराम बस्नेतले २०७८ मै पाए सफाइ

एमाले निकट युवा संघका नेता पर्शुराम बस्नेतले भने २०७८ भदौ २४ गते नै सर्वोच्च अदालतबाट सफाइ पाइसकेका थिए।

विशेष अदालतले समेत उनलाई सफाइ दिएको थियो। विभागले बस्नेतसँग करिब ११ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको दाबी गरेको थियो।

मोरङमा ४२ रोपनी जग्गा, तीन वटा गाडी तथा विभिन्न व्यवसायमा लगानी गरी गुण्डागर्दीबाट आर्जित सम्पत्ति लुकाएको दाबी विभागले गरेको थियो। तर, अदालतले उनले सम्पत्ति शुद्धीकरण ऐन लागू हुनुअघि नै उक्त सम्पत्ति आर्जन गरेको देखिएको आधारमा सफाइ दिएको थियो।

दीपक मनाङे प्राविधिक कारणले जोगिए

गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका दीपक मनाङे भनिने राजीव गुरुङले पनि सफाइ पाइसकेका छन्।

विशेष अदालतले २०७४ सालमै उनलाई सफाइ दिएको थियो। सरकारी पक्षले तोकिएको समयभित्र सर्वोच्च अदालतमा पुनरावेदन नगरेपछि मुद्दाको म्याद गुज्रिएको थियो। त्यससँगै उनको मुद्दा कानुनी रूपमा समाप्त भएको हो।

अभिषेक गिरीको मुद्दा अझै विचाराधीन

पाँच जनामध्ये अभिषेक गिरीको मुद्दा भने अझै सर्वोच्च अदालतमा विचाराधीन छ।

विशेष अदालतबाट सफाइ पाए पनि सरकारी पक्षले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेकाले उनको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ।

किन पाए सफाइ ?

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाँचै जनाले अवैध गतिविधि, धम्की तथा असुलीबाट सम्पत्ति आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो।

तर अदालतमा दाबी गरिएअनुसार अवैध स्रोतबाट सम्पत्ति आर्जन भएको पुष्टि हुन नसकेको र अधिकांशको सम्पत्ति सम्पत्ति शुद्धीकरण ऐन लागू हुनुअघि नै आर्जन भएको देखिएको आधारमा सफाइ दिइएको हो।

यससँगै प्रहरीले ‘गुण्डा नाइके’को सूचीमा राखेर एक दशकअघि अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरण पाँचमध्ये चार जनाको हकमा अदालतबाट टुंगिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖