काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजनीति भावनात्मक सामाजिक सञ्जालका स्ट्याटसबाट नभई काम र परिणामबाट चल्ने भन्दै सचेत गराएका छन्।
प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्जालमार्फत ‘केही समय लाग्छ सही समय आउनलाई’ र ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने आशयको स्ट्याटस लेखेपछि बस्नेतले प्रतिक्रिया जनाएका हुन्।
प्रधानमन्त्री शाहले आफ्नो स्ट्याटसमा सही समय आउन केही समय लाग्ने, ढिला भए पनि गलत नहुने भन्दै नआत्तिन आग्रह गरेका थिए। उनले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुनसक्ने तथा कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने उल्लेख गरेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि टिप्पणी गर्दै एमाले सचिव बस्नेतले ‘दुःख पायो मङ्गले, आफ्नै ढङ्गले!’ भन्दै व्यङ्ग्य गरेका छन्।
बस्नेतले प्रधानमन्त्रीको स्ट्याटसबाट सत्ता त्यागका लागि दबाब बढिरहेको र आफ्ना निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने अवस्था देखिएको टिप्पणी गरेका छन्।
राजनीति भावनाले नभई काम र परिणामले सही साबित हुने क्षेत्र भएको उल्लेख गर्दै बस्नेतले जनताले अब आश्वासनभन्दा समस्याको समाधान र वास्तविक परिवर्तन चाहेको बताएका छन्।
चुनावमा प्राप्त जनमतलाई बिर्सन नहुने भन्दै उनले जनताले साथ दिएर सत्तामा पुर्याएकाले उनीहरूका प्रश्न र आलोचनाबाट भाग्न नमिल्ने धारणा राखेका छन्।
गल्ती सच्याउने र जनतालाई जवाफ दिने समय यही भएको बताउँदै बस्नेतले सामाजिक सञ्जालका स्ट्याटसले नभई इतिहासले को सही र को गलत थियो भन्ने फैसला गर्ने बताएका छन्।
