• Thursday 8th of October 2026

नेपाल एयरलाइन्सले तिर्‍यो जहाज किन्दा लिएको ऋणको असोजसम्मको किस्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्न ल्याएको ऋणको असोज २०८० सम्मको किस्ता तिरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ ।

यसअघि निगमले २०७९ असारदेखि २०८० असारसम्म ३ अर्व ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएपछि नगद प्रवाहमा समेत सुधार आएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

यसबीचमा इन्जिन मर्मत खर्च, नियमित तथा आकस्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्च समेत व्यहोरी विभिन्न निकायमा रहेका पुराना वक्यौता रकम समेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरिएको पौडेलले जनाएका छन् ।

आन्तरिक उडानमा तीन जहाज किन्ने योजना

निगमले तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसँग खरीद गर्ने कार्ययोजनासमेत अन्तिम चरणमा पुगेको निगमले जनाएको छ ।

निगमले नयाँ ३ वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने, पर्यटन प्रवद्र्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास कम्पनीको छ । यसबाट आफ्नो राष्ट्रिय उत्तरदायित्व समेत निर्वाह हुने निगमले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖