काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। यसअघि सामूहिक रूपमा राजदूतहरूसँग भेट गर्दै आएका प्रधानमन्त्री शाहले अब भने व्यक्तिगत रूपमा भेटवार्ता गर्न लागेका हुन्।
यसअघि प्रधानमन्त्री शाहले विदेशी राजदूतहरूसँग छुट्टाछुट्टै भेट गर्न समय नदिएको बताइँदै आएको थियो। सोमबारदेखि उनले विभिन्न देशका राजदूतसँग भेटवार्ता सुरु गर्ने तयारी गरेका छन्। पहिलो चरणमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट हुने बताइएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय राजदूतसँग भेट गरेपछि प्रधानमन्त्री शाहले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्नेछन्। त्यसपछि अमेरिकालगायत अन्य मुलुकका राजदूतसँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि बधाई तथा शुभकामना दिन विदेशी राजदूतहरूले भेटका लागि समय माग गरे पनि शाहले सुरुमा छुट्टाछुट्टै भेट नगरी चैत २५ गते एकैपटक विभिन्न देशका राजदूत तथा नियोग प्रमुखसँग सामूहिक भेट गरेका थिए। त्यस क्रममा नेपालको परराष्ट्र नीतिबारे समेत जानकारी गराइएको थियो।
त्यसपछि जेठ १२ गते प्रधानमन्त्री शाहले नेपालस्थित युरोपेली संघ (ईयू) आबद्ध मुलुकका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।
सामूहिक भेटपछि पनि विभिन्न देशका राजदूतले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै भेटका लागि प्रयास गरे पनि समय नपाएको बताइएको थियो। विदेशबाट आएका उच्चस्तरीय कूटनीतिज्ञसँग समेत प्रधानमन्त्रीले भेट नगरेको विषय कूटनीतिक वृत्तमा चर्चामा आएको थियो।
प्रधानमन्त्री शाहको पछिल्लो कदमलाई नेपालको कूटनीतिक सम्बन्धलाई थप सक्रिय बनाउने प्रयासका रूपमा हेरिएको छ। राजदूतहरूसँगको भेटवार्तापछि प्रधानमन्त्रीको विदेश भ्रमणका लागि समेत वातावरण बन्न सक्ने अपेक्षा गरिएको छ।
भारत र चीनबाट प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो आइसकेको भए पनि उनले हालसम्म विदेश भ्रमण गर्नेबारे निर्णय लिइसकेका छैनन्। साथै, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाह सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको प्रतिनिधित्व गर्ने तयारी गरिरहेको जनाइएको छ।
