काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार मुद्दामा तोकिएको बाँकी सबै कैद सजायबाट छुट पाएका छन्। विशेष अदालत र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका जोशी अब जेल बस्नुनपर्ने भएको हो।
ज्येष्ठ नागरिकका लागि कानुनले दिएको कैद छुटको सुविधा माग गर्दै जोशीले असार २४ गते निवेदन दिएका थिए। शुक्रबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई कैद सजाय छुट दिने आदेश गरेको हो।
७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशतसम्म कैद छुट पाउने कानुनी व्यवस्था छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा जोशी यसअघि ३ महिना १७ दिन थुनामा बसिसकेका थिए। त्यसैलाई आधार बनाउँदै उनले बाँकी कैद छुटको माग गरेका थिए।
कैद छुट दिने आदेश भने बहुमतबाट भएको हो। जोशी कारागारमा नरहेको अवस्थामा कैद छुटका लागि निवेदन दिन मिल्ने वा नमिल्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको थियो।
न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाले कारागारमा नबसेका व्यक्तिले पनि कानुनबमोजिम कैद छुटको सुविधा पाउन सक्ने राय दिएका थिए। अर्का न्यायाधीश हेमन्त रावलले भने कारागारमा बसेको व्यक्तिले मात्रै कैद छुटका लागि निवेदन दिनुपर्ने राय राखेका थिए।
जोशीलाई २०६९ साउन १० गते विशेष अदालतले १ वर्ष ६ महिना कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो। त्यसको १२ वर्षपछि सर्वोच्च अदालतले विशेष अदालतको फैसला केही उल्ट्याउँदै २०८१ साउन १३ गते ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो।
सर्वोच्च अदालतबाट कैद र जरिवाना तोकिए पनि जोशीले अहिलेसम्म उक्त सजाय भुक्तान गरेका थिएनन्।
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका जोशी पछिल्लो समय पार्टीभित्र छुट्टै समूह सञ्चालन गर्दै आएका छन्।
