काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने आफ्नो धारणामाथि सार्वजनिक रूपमा आलोचना भएपछि आफू आफ्नो तर्कमा अडिग रहेको बताएका छन्।
आइतबार साँझ फेसबुकमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै ढकालले सिंह दया र करुणाको नभई हिंसा, घमण्ड र शासकको प्रतीक भएको तर्क दोहोर्याएका हुन्।
‘मृग (हरिण)ले सिंहलाई गरेको अगाध प्रेमको दुर्लभ दृश्य आज सामाजिक सञ्जालमा देखेँ। त्यो दरबार बनाउँदा श्रमिकमाथि गरिएको शोषणको इतिहास आज पढेको होइन, अलि पहिल्यै नै पढेको थिएँ,’ उनले लेखेका छन्।
सिंहदरबारको नामबारे आफ्नो भनाइ दरबारको ‘स्वभाव–भाव र भङ्गी’ नामजस्तै देखिनु नहुने तथा सत्यको ‘लिगेसी’सँग सम्बन्धित रहेको उनले स्पष्ट पारेका छन्।
ढकालले यसपटकको परिवर्तनमा मात्र नभई विगतका परिवर्तनका क्रममा पनि विभिन्न स्थानका नाम परिवर्तन गरिएको उल्लेख गरेका छन्। त्यसैले सिंहदरबारको नाम पनि परिवर्तन गरेर अर्को नाम राख्न सकिने आफ्नो धारणा रहेको उनले बताएका छन्।
आफूले बोलेको पूरा भिडियो धेरैले नहेरेको आफूलाई थाहा रहेको भन्दै उनले कार्यक्रममा सहभागी हुनेहरू भने आफ्नो भनाइप्रति ‘दंग’ रहेको दाबी गरेका छन्।
‘म मेरो तर्कमा अडिग छु—सिंह दया र करुणाको प्रतीक होइन,’ ढकालले भनेका छन्, ‘सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो, शासककै प्रतीक हो !’
