काठमाडौं । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शाहलाई भेट्न लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए । दुई नेताबीच करिब ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफू विभिन्न चुनौतीबीच ‘एक्लै लड्नुपरेको’ अभिव्यक्ति दिएपछि लामिछाने असन्तुष्ट रहेको बताइएको थियो । भेटमा यही विषयसँगै सरकारका सम्भावित कदम, राजनीतिक नियुक्ति र पार्टीका अपेक्षाबारे छलफल भएको स्रोतको दाबी छ ।
दुई नेताबीच प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण तथा सभापति लामिछानेको तयारीमा रहेको चीन भ्रमणबारे पनि कुराकानी भएको बताइएको छ ।
त्यस्तै, राजदूत छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाका विषयमा समेत छलफल भएको उच्च स्रोतले जनाएको छ ।
बालुवाटार स्रोतले भने दुई नेताबीच सम्बन्धमा ठूलो दरार उत्पन्न भएको रूपमा भेटवार्तालाई बुझ्न नहुने जनाएको छ । स्रोतका अनुसार यो नियमित राजनीतिक छलफलका रूपमा भएको हो ।
लामिछाने पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई साथमा लिएर बालुवाटार पुगेको पार्टी स्रोतले दाबी गरे पनि सुरक्षा स्रोतले यसको पुष्टि नगरेको बताइएको छ । प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेन पनि भेटमा सहभागी भएको चर्चा भए पनि बेनले आफू उक्त भेटमा सहभागी नभएको बताएका छन् ।
प्रधानमन्त्री शाहले पदभार सम्हालेयता लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन् । यसअघि भएको भेटमा लामिछाने र शाहसँग कुमार बेनलगायत उच्च तहका केही नेता सहभागी भएको उच्च सुरक्षा स्रोतले जनाएको थियो ।
