काठमाडौँ । नेकपा (एमाले)की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्नुपर्ने सत्तारुढ दलकै सांसद हरि ढकालको प्रस्तावप्रति आपत्ति जनाएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै घतानीले सिंहदरबारको नाम परिवर्तन गर्ने प्रस्तावले यसको ऐतिहासिक पहिचान मेटाउने प्रयास भएको बताइन्।
सांसद ढकालले आइतबार सार्वजनिक कार्यक्रममा सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।
त्यसप्रति प्रतिक्रिया दिँदै घतानीले भनिन्, ‘सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र? अब यसको नाम मेटाएर यसको इतिहास नै मेटाउने चलखेल हुँदैछ, बन्द गरियोस्।’
उनले देशमा बढ्दो निराशाप्रति सरकार गम्भीर बन्न नसकेको आरोपसमेत लगाइन्। नागरिकका दैनिक समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले बजारमा देखिएको ग्यास अभाव समाधान गर्न र स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन माग गरिन्।
त्यस्तै, सहकारी पीडितको बचत फिर्ताको सुनिश्चितता गर्न, किसानलाई रासायनिक मल तथा आफ्ना उत्पादनका लागि बजार उपलब्ध गराउन र युवालाई रोजगारीको अवसर सिर्जना गर्न सरकारसँग आग्रह गरिन्।
व्यवसायीलाई सहज रूपमा व्यापार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र अस्पतालमा देखिने लामो लाइनको समस्या अन्त्य गर्नसमेत सरकारको ध्यानाकर्षण गराइन्।
घतानीले नागरिकमा राज्यप्रतिको भरोसा कमजोर हुँदै गएको उल्लेख गर्दै भनिन्, ‘सुकुम्बासी, सहकारीपीडित, किसान, शिक्षक, दलित, युवा सबैको एउटै प्रश्न छ– सरकार हामीलाई कहिले देख्छौ? राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले पाउने?’
