काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि व्यक्तिगत लाञ्छना लगाउँदै चरित्र हत्या गर्ने प्रयास भएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले आफूले मदिरा सेवन गरेर जथाभावी बोलेको र अश्लील भिडियो सार्वजनिक भएको भन्दै सामाजिक सञ्जालमा फैलाइएका आरोपको खण्डन गरेका हुन्।
उनले संसद्मै स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीमार्फत आफ्नो रगतसहित शरीरका सबै अंग परीक्षण गर्न चुनौती दिए। आफूले जन्मेदेखि अहिलेसम्म मदिराको एक थोपा पनि सेवन नगरेको दाबी गर्दै उनले परीक्षणबाट मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने बताए।
‘जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्र मेरो शरीरमा प्रयोग भएको देखिए म सांसद पदबाट राजीनामा दिन तयार छु,’ उनले भने, ‘होइन भने भ्रम फैलाउने र चरित्र हत्या गर्नेहरूलाई कारबाही गर्ने कि नगर्ने? यसको जवाफ गृहमन्त्रीसँग माग्छु।’
सामाजिक सञ्जालमा अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएको भन्दै शाहीले आक्रोश व्यक्त गरे। उनले डिपफेक तथा नक्कली भिडियो बनाएर आफूलाई बदनाम गर्ने काम भएको दाबी गर्दै यसले आफ्नो परिवार, श्रीमती र छोरीको मानसिक स्वास्थ्यमा समेत असर परेको बताए।
यस्ता साइबर बुलिङमा संलग्न व्यक्तिमाथि कारबाही गर्न प्रहरी र सरकार किन मौन बसेको भन्दै उनले प्रश्नसमेत गरे।
आफूले कर्णालीका दुई दलित परिवारको मृत्यु तथा जनजीविकासँग जोडिएका विषयमा आवाज उठाएका कारण योजनाबद्ध रूपमा आफूविरुद्ध आक्रमण भइरहेको शाहीको दाबी छ।
‘मैले कर्णालीको पीडा उठाउँदा सरकारले त्यसको उत्तर दिनुको साटो मेरो चरित्र हत्या गरेर मलाई चुप लगाउन खोज्यो,’ उनले भने, ‘तर मेरो ज्यान गए पनि, राजनीतिक जीवन समाप्त भए पनि कर्णाली र पीडित जनताको आवाज उठाइरहनेछु।’
