काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दीपकबहादुर केसी ‘मानसिंह’को निधन भएको छ।
पार्टीका अनुसार केसीको साउन २४ गते साँझ ८ बजे प्युठान नगरपालिका–१०, मरन्ठानास्थित आफ्नै निवासमा निधन भएको हो। पार्टीले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
वि.सं. १९९८ साउन १८ गते प्युठानमा जन्मिएका केसीले २०२३ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। त्यसपछि उनी २०२४ देखि २०३६ सालसम्म भूमिगत रहेर पार्टी संगठन निर्माणमा सक्रिय भएका थिए।
लामो समय अस्थायी शिक्षकका रूपमा शिक्षण पेसामा समेत रहेका केसीले पार्टीको जिल्ला समिति सदस्य, जिल्ला सचिव हुँदै केन्द्रीय समिति सदस्यसम्मको जिम्मेवारी सम्हालेका थिए।
महान् जनयुद्धका क्रममा २०५३ देखि २०६३ सालसम्म परिवारसहित भूमिगत भएर पार्टीका विभिन्न जिम्मेवारीमा सक्रिय रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनाएको छ।
केसी २०६४ सालमा प्युठान क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। पार्टीका अनुसार उनी जीवनको अन्तिम समयसम्म पनि मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध रहँदै नयाँ जनवाद, वैज्ञानिक समाजवाद र साम्यवादको यात्रामा सक्रिय थिए।
