जनकपुरधाम । जनकपुरका वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । ७९ वर्षीय डा. विमलको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको हो ।
परिवारका अनुसार राति घरमै नातिसँग खेलिरहेका बेला उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो । त्यसपछि थप उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि राति करिब १ बजे उनको निधन भएको छोरा विभास लाभले जानकारी दिए ।
डा. विमलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचोकस्थित निजी निवासमा राखिएको छ । उनको आजै स्वर्गद्वारीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
लामो समय अध्यापन पेसामा सक्रिय रहेका डा. विमलले विज्ञान विषयमा विद्यावारिधि गरेका थिए । उनले नेपाली, हिन्दी र अंग्रेजी विषयमा स्नातकोत्तरसमेत गरेका थिए ।
बाल्यकालदेखि नै साहित्यप्रति रुचि राख्दै आएका विमलका विभिन्न कथा, नाटक तथा लघुकथा प्रकाशित छन् । नेपाली र मैथिली साहित्यमा पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो ।
