• Sunday 4th of October 2026

पुरन पौडेलको निर्देशनमा ‘यो मायाको कसम’ सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौ । निर्देशक तथा सर्जक पुरन पौडेलको निर्देशनमा तयार गरिएको नयाँ लोकपप गीत ‘यो मायाको कसम’ सार्वजनिक गरिएको छ। प्रेमको भावनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतले प्रेममा आउने पारिवारिक अवरोध र संघर्षको कथा उजागर गरेको छ।

गीतमा शब्द, संगीत, संगीत संयोजन र लय सिर्जना पुरन पौडेलकै रहेको छ भने स्वर प्रताप दासको रहेको छ। गीतको एरेन्ज उर्गेन दोङले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ दीपेश प्रधानले गरेका छन् भने गीत बिउर्न स्टुडियोमा रेकर्ड गरिएको हो।

म्युजिक भिडियोमा पुरन पौडेल, नवीना सुनार, निर्मला तामाङ, विमल श्रेष्ठ, अजित मास्के र सूरज थापालगायतका कलाकारहरूको अभिनय रहेको छ। भिडियोमा पुरन पौडेल र नवीना सुनार मुख्य भूमिकामा देखिएका छन्। आकर्षक छायांकन, भावपूर्ण अभिनय र सशक्त प्रस्तुतिका कारण भिडियोले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षा गरिएको छ।

गीतको कथा लेखन पनि पुरन पौडेलकै रहेको छ। आफूले मन पराएको व्यक्तिलाई परिवारले छुट्याउन खोजेपनि साँचो प्रेमलाई अलग गर्न नसकिने भावलाई केन्द्रमा राखेर निर्माण गरिएको भिडियोले प्रेम, समर्पण र सम्बन्धको गहिराइलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।

उक्त गीत ‘यो मायाको कसम’लाई पुरन पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। उत्कृष्ट शब्द, मधुर संगीत र मन छुने कथावस्तुले सजिएको यस गीतले नेपाली लोकपप संगीतप्रेमीको मन जित्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖