• Monday 5th of October 2026

दुर्गा प्रसाईंको घरमा पुग्यो प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरको निकोसेरास्थित घरमा प्रहरीले निगरानी बढाएको छ।

लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा प्रसाईं सहभागी हुने सूचना पाएपछि नेपाल प्रहरीको टोली उनको निवास पुगेको हो।

आन्दोलनमा सहभागी भएर प्रसाईंले स्थिति भड्काउन सक्ने आकलन गर्दै उनलाई घरमै रोक्नका लागि प्रहरी पुगेको प्रहरी स्रोतले जनाएको छ। अप्रिय परिस्थिति सिर्जना नहोस् भनेर सावधानीस्वरूप प्रहरी परिचालन गरिएको स्रोतको भनाइ छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदल यात्रा गर्दै लघुवित्त तथा सहकारी पीडितहरू काठमाडौं आइपुगेका छन्।

उनीहरूले शुक्रबार राति राष्ट्रिय मानव अधिकार आयोग अगाडिको सडकमा सुतेर धर्ना दिएका थिए। आफ्ना माग पूरा नभएसम्म र सरकारको तर्फबाट वार्ताका लागि प्रतिनिधि नआएसम्म आन्दोलनस्थलबाट नहट्ने अडान उनीहरूले लिएका छन्।

लघुवित्त तथा सहकारी पीडितहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै आन्दोलन जारी राखेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖