• Monday 5th of October 2026

ओलीले दिए आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन चुनौती


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने बहस चर्किरहेका बेला ओलीले नै आफूलाई अध्यक्ष पदबाट हटाएर देखाउन चुनौती दिएका छन्।

इलाममा आयोजित कार्यक्रममा ओलीले पार्टीभित्र चिया पसलदेखि क्यान्टिनसम्म बसेर अध्यक्ष हटाउने चर्चा गर्नुको कुनै अर्थ नभएको भन्दै आक्रोश पोखे। उनले व्यंग्यात्मक शैलीमा भने, ‘अध्यक्ष हटाउने ? कहिले हो हटाउने ! ढिलो भयो भने त छिटो हटाऊ त, हटाइदेऊ न।’

ओलीले आफूलाई अध्यक्षबाट हटाउने अभियान चलाउने व्यक्ति पार्टी सदस्यसमेत हो कि होइन भन्ने प्रश्नसमेत उठाए। चिया पिएर गफ गर्दैमा पार्टी अध्यक्ष हटाउन नसकिने उनको भनाइ थियो।

एमालेभित्र ओलीलाई अध्यक्षबाट हटाउन हस्ताक्षर अभियानसमेत चलेकोप्रति उनले कडा प्रतिक्रिया जनाए। यस्तो अभियान पार्टीको विधान र प्रक्रियाविपरीत भएको दाबी गर्दै ओलीले त्यसमा कुनै ‘दम’ नभएको टिप्पणी गरे।

उनले पार्टीमा नेतृत्व परिवर्तनका लागि निश्चित विधि र समय हुने स्पष्ट पार्दै अहिले अध्यक्ष हटाउने बहस चलाउनु अनुशासनहीनता र अराजकताको संकेत भएको बताए।

विपक्षी शक्तिको दबाब बढिरहेको अवस्थामा एमाले एकताबद्ध भएर सामना गर्नुपर्ने बेला पार्टीभित्रै नेतृत्व हटाउने बहस चल्नु गलत भएको ओलीको भनाइ छ।

ओलीको चुनौतीले एमालेभित्रको आन्तरिक शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ। अध्यक्षविरुद्ध हस्ताक्षर अभियान र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला ओलीले भने आफूलाई हटाउनेलाई सीधै चुनौती दिँदै ‘हटाएर देखाऊ’ भन्ने सन्देश दिएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖