काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले छठ पर्व सकिएपछि मधेसमा रास्वपाका सांसदले जनताको आक्रोश सामना गर्नुपर्ने बताएका छन्।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बुधबार आयोजित पार्टी, सांसद तथा मन्त्रीहरूको छलफलमा सिंहले सरकारका पछिल्ला निर्णयका कारण मधेसमा असन्तुष्टि बढ्दै गएको बताएका हुन्।
सीमा क्षेत्रमा कडाइ गरिँदा मधेसी नागरिकको दैनिक जीवन प्रभावित भएको भन्दै उनले आगामी दिनमा समस्या अझ बढ्न सक्ने चेतावनी दिए।
सीमा पारिबाट सामान ल्याउँदा १ सय रुपैयाँसम्मको खरिदमा भन्सार महसुल छुटको व्यवस्था रहे पनि त्यसभन्दा बढी मूल्यको सामान खरिद गर्नेहरूसँग भन्सार शुल्क लिन थालिएपछि मधेसमा विरोध भएको थियो। सरकारले उक्त व्यवस्था कडाइका साथ लागू गरेपछि नागरिकस्तरबाट असन्तुष्टि बढेको हो।
यस विषयमा सर्वोच्च अदालतमा रिटसमेत दायर भएपछि नागरिकलाई सम्मानजनक व्यवहार गर्न अन्तरिम आदेश जारी भएको थियो। शुल्कका कारण समस्या परेको भन्दै व्यापक विरोध भएपछि सरकारले अहिले उक्त व्यवस्थामा केही खुकुलो बनाएको छ।
बैठकमा सिंहले सरकारले विभिन्न विषयमा गल्ती गरिरहेको दाबी गर्दै आफूलाई एक साता समय दिए सरकारका सयवटा गल्ती देखाइदिन सक्ने बताएका थिए।
‘मलाई एक हप्ता दिनुहोस्, म सरकारका १ सय गल्ती निकालिदिन्छु,’ सिंहले भनेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ, ‘मधेसमा त छठ पर्व सकिएपछि रास्वपाका सांसदले पिटाइ खाने दिन आउँदैछन्।’
सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित रास्वपाका सांसद हुन्।
