• Monday 5th of October 2026

रास्वपा बैठक छाडेर मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन


  • धनकुटा खबर
  • .

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ। बिहान ११ बजेपछि वनस्थलीस्थित घण्टीघरमा बस्ने बैठकमा दर्जनभन्दा बढी एजेन्डामाथि छलफल हुँदैछ।

तर, पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठककै दिन मुस्ताङतर्फ लागेका छन्। प्रधानमन्त्री शाह शुक्रबार बिहान सडकमार्ग हुँदै पोखरा भएर मुस्ताङतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे सुरक्षा अधिकारीसमेत अनभिज्ञ देखिएका छन्। प्रधानमन्त्रीको सचिवालयले पनि भ्रमणको उद्देश्यबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार शाह मुस्ताङ गएको पुष्टि भए पनि भ्रमणको उद्देश्यबारे आफूहरूलाई समेत जानकारी छैन। ‘भ्रमणको कुरा सही हो तर उद्देश्यबारे हामीलाई पनि जानकारी छैन,’ ती सदस्यले भने, ‘उद्देश्य खुलाउने निर्देशन छैन।’

स्रोतका अनुसार प्रधानमन्त्री शाह केहीबेरअघि धादिङस्थित नेपाली सेनाको भैरव गणमा पुगेका थिए। यसअघि पनि शाह रास्वपाको केन्द्रीय समिति तथा अन्य पार्टी बैठकमा न्यून मात्रामा सहभागी हुँदै आएका छन्।

यता, रास्वपा महामन्त्री विपिनकुमार आचार्यका अनुसार आजको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने विषयमा छलफल हुनेछ। साथै ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण, सांगठनिक व्यवस्थापन तथा मनोनयनसम्बन्धी विषय पनि बैठकका एजेन्डामा छन्।

त्यस्तै, केन्द्रीय समिति सदस्य तथा पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनलगायत विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖