काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्।
संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै देउवा र खड्काले सर्वोच्चमा रिट निवेदन दर्ताका लागि पठाएका हुन्।
देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च अदालत पुगेका छन्। कांग्रेसको इतर समूहका प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगेको जानकारी दिएका छन्।
निवेदनमा कांग्रेसको महाधिवेशनसम्बन्धी हालै सार्वजनिक गरिएको प्रक्रिया र कार्यतालिका रोक्न उत्प्रेषणको आदेश माग गरिएको छ।
संस्थापन पक्षले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तथा असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। उक्त कार्यतालिका एकपक्षीय रूपमा सार्वजनिक गरिएको आरोप देउवा र नेता डा. शेखर कोइराला पक्षले लगाउँदै आएको छ।
यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा पुनरावलोकनको आदेश दिएको थियो। उक्त आदेशपछि संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त संवाद र सहमति नगरी महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको आरोप लाग्दै आएको छ।
यसैबीच, देउवा र नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान चुनदेवीमा भेटवार्तासमेत भएको थियो।
