काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको रिट निवेदन शुक्रबार सर्वोच्च अदालतमा दर्ता हुन सकेन ।
कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्काले छुट्टाछुट्टै रिट निवेदन पेस गरेका थिए । संस्थापन पक्षले एकलौटी रूपमा अघि बढाएको महाधिवेशन प्रक्रिया र कार्यतालिका रोक्न माग गर्दै रिट दायर गर्न खोजिएको हो ।
दिउँसो खाजा समयपछि सर्वोच्च प्रशासनमा पेस गरिएका दुवै रिटको अध्ययन नसकिएको भन्दै शुक्रबार दर्ता नगरिएको बताइएको छ । सर्वोच्च प्रशासनले रिट लिएर आउनेहरूलाई सोमबार पुनः आउन भनेको छ ।
निकट स्रोतका अनुसार शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा. मनोज शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल उपस्थित थिएनन् । महत्त्वपूर्ण प्रकृतिको रिट भएकाले प्रशासनका प्रमुख अधिकारीहरू उपस्थित नभएको अवस्थामा दर्ता प्रक्रिया अघि नबढाइएको स्रोतको भनाइ छ ।
देउवा र खड्काले वारेसमार्फत रिट सर्वोच्चमा पुर्याएका थिए । देउवाका तर्फबाट कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार वारेसका रूपमा सर्वोच्च पुगेका थिए ।
रिटमा कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी हाल अघि बढाइएको प्रक्रिया तथा कार्यतालिका रोक्न उत्प्रेषणको आदेश माग गरिएको छ।
