बायर्न । स्नायुसम्बन्धी समस्याको उपचारमा गरिएको परिवर्तनका कारण मिडफिल्डर जमाल मुसियाला दुई लगातार खेलमा मैदानमै लड्न पुगेको बायर्न म्युनिखका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले बताएका छन्। उनले यस विषयमा चिन्ता लिनुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेका हुन्।
मंगलबार हाइडेनहाइमविरुद्ध मैत्रीपूर्ण खेलमा ४-२ को जितका क्रममा २३ वर्षीय जर्मन खेलाडी बेन्चबाट मैदान छिरेको छ मिनेटमै ढलेका थिए। दुवै टोलीका खेलाडीहरूले उपचार पाइरहेका मुसियालालाई घेरेका थिए। त्यसपछि उनलाई हिँडाएर मैदानबाहिर लगिएको थियो।
अघिल्लो साता लाइपजिगविरुद्धको मैत्रीपूर्ण खेलमा पनि मुसियाला यसैगरी लडेका थिए। जर्मन समाचार एजेन्सी डिपिएका अनुसार उनी आफैँ मैदानबाट बाहिरिए पनि झुम्मिएका देखिन्थे।
पछिल्लो घटनापछि मुसियालाले आफ्नो इन्स्टाग्राम खातामा एक सन्देश पोस्ट गर्दै स्नायुसम्बन्धी समस्याका कारण आफूमा अल्पकालीन ‘अब्सन्स सिजर्स’ देखिएको र यसको उपचार सहज रहेको उल्लेख गरेका छन्।
शनिबार बोरुसिया डर्टमुन्डविरुद्ध हुने जर्मन सुपरकप अघि बोल्दै कोम्पानीले खेलाडीको स्वास्थ्यबारे रहेका चिन्ता कम गर्ने प्रयास गरे। कोम्पानीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले जमालसँग कुरा गरेँ ।
उपचारका क्रममा उनले केही कुराहरू परिवर्तन गरेका थिए । त्यसैको असर देखिएको हो। उपचारका क्रममा अरू विकल्प अपनाउनु सामान्य कुरा हो।’
बायर्नका खेल निर्देशक म्याक्स एबर्लले क्लब खेलाडीको पूर्ण साथमा रहेको र मुसियाला आफैँले आफ्नो स्वास्थ्य अवस्था सार्वजनिक गर्न चाहेको बताए। शनिबारको खेलका लागि भने मुसियाला टोलीमा रहने छैनन्।
एबर्लले भने, ‘हामीलाई अघिल्लो सिजनभरि नै यसबारे थाहा थियो। खेलाडीहरूलाई पनि जानकारी थियो। हाम्रा लागि यो दैनिक जीवनको हिस्सा बनेको छ।’
उनले अगाडि भने, ‘उनले औषधिमा केही परिवर्तन गरे, जसले गर्दा यस्ता स्थितिहरू स्पष्ट रूपमा देखिए। हामी उनलाई पूरा समर्थन गर्नेछौँ, पहिले पनि गरेका थियौँ र अझै गर्नेछौँ। हामी यो मिलेर गरिरहेका छौँ।’
सन् २०२५ जुलाईमा गम्भीर चोटका कारण छ महिना मैदानबाहिर रहेका मुसियाला पुरानो लयमा फर्किन सङ्घर्षरत थिए। कोम्पानीका अनुसार उनले अहिले ठुलो सुधार गरेका छन् र प्रदर्शन गर्न तयार छन्।
कोम्पानीले भने, ‘अब जमालबाट बलियो पुनरागमनको अपेक्षा गर्दछु। मलाई लाग्छ उनीसँग अब सबै उत्तर दिने क्षमता छ।’
