काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनको नेतृत्व क्षमता र कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
खड्काले वि.सं. २०८२ को राजनीतिक घटनाक्रमलाई आधार बनाउँदै थापाको नेतृत्व र बीपी कोइरालाको ऐतिहासिक नेतृत्वबीच तुलना गरेका छन्। उनका अनुसार वि.सं. २०१४ सालमा विशेष महाधिवेशनबाट सभापति बनेपछि बीपी कोइरालाले पार्टीभित्रका सबै पक्षलाई समेटेर संगठनलाई एकताबद्ध बनाएका थिए। त्यसकै परिणामस्वरूप २०१५ सालको निर्वाचनमा कांग्रेसले १०९ मध्ये ७४ सिट जितेर दुई तिहाइ नजिकको सरकार गठन गरेको खड्काको भनाइ छ।
यसको विपरीत वि.सं. २०८२ पुसमा विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बनेपछि पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको उनले टिप्पणी गरेका छन्। निर्वाचन परिणामको जिम्मेवारी लिँदै सभापतिले राजीनामा दिएको भनिए पनि पछि ठोस कारणबिनै राजीनामा फिर्ता लिइएको खड्काले बताएका छन्।
खड्काले वर्तमान नेतृत्वले आफू पदमा रहने तर कमजोरी र असफलताको दोष अरूमाथि थोपर्ने प्रवृत्ति देखाएको आरोप लगाए। नेतृत्वका लागि मीठो बोल्नु मात्र पर्याप्त नहुने भन्दै उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यमको भरमा पार्टी संगठन बलियो बनाउन नसकिने बताएका छन्।
“सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन,” खड्काले भनेका छन्, “केही सञ्चारमाध्यममा आफ्नो समर्थन जुटाउँदैमा र फरक विचार राख्नेमाथि प्रहार गर्दैमा संगठन बन्दैन।”
कांग्रेसजस्तो ठूलो पार्टी संगठनको बल, कार्यकर्ताको विश्वास र जनताको मतबाट मात्र बलियो बन्न सक्ने उनको धारणा छ।
कुशल नेतृत्वले पार्टीभित्रका सबै पक्षलाई साथमा लिएर अघि बढ्नुपर्ने बताउँदै खड्काले पूर्वसभापति शेरबहादुर देउवाको उदाहरणसमेत दिएका छन्। आफ्नो पक्षलाई मात्र बलियो बनाउनेभन्दा सबैलाई समेटेर अघि बढ्ने कला देउवाबाट सिक्न सकिने उनको भनाइ छ।
बारम्बार महाधिवेशनको चर्चा गर्नु मात्र पर्याप्त नहुने भन्दै खड्काले महाधिवेशनको वास्तविक अर्थ पार्टीभित्रको लोकतन्त्र, फरक विचारको सम्मान र सबै पक्षको सहभागिता सुनिश्चित गर्नु रहेको बताएका छन्।
खड्काले सभापति थापालाई दुईमध्ये एक बाटो रोज्न सुझावसमेत दिएका छन्। सबैलाई समेट्न नसक्ने हो भने आफ्नो सीमितता स्वीकार गर्नुपर्ने वा सबै पक्षलाई साथमा लिएर पार्टीलाई बलियो र एकताबद्ध बनाउनुपर्ने उनको भनाइ छ।
उनले कुर्सी प्राप्त गर्नु मात्र नेतृत्व नभई इतिहासले सुम्पिएको जिम्मेवारी पूरा गर्नु नै वास्तविक नेतृत्व भएको निष्कर्ष निकालेका छन्।
