• Sunday 4th of October 2026

विपक्षी खेलाडीलाई थप्पड हानेपछि मेस्सीलाई कारबाही


  • धनकुटा खबर
  • .

फिलाडेल्फिया । मेजर लिग सकर (एमएलएस) अन्तर्गत बुधबार फिलाडेल्फिया युनियनविरुद्धको खेल २–२ को बराबरीमा सकिएपछि इन्टर मायामीका लियोनल मेस्सी जरिवानामा परेका छन्।

खेलका क्रममा फिलाडेल्फियाका क्विन सुलिवानलाई थप्पड हानेका कारण उनीमाथि यो कारबाही भएको हो।

३९ वर्षीय मेस्सीले खेलको अन्त्यतिर सुलिवानको टाउकोको पछाडि थप्पड हानेका थिए। बल पास गरिसकेपछि सुलिवानले आफूलाई कुहिनोले हानेको भन्दै मेस्सीले मैदानमै असन्तुष्टि जनाएका थिए।

मेस्सीको थप्पडपछि सुलिवान आक्रोशित बने पनि रेफ्रीले तुरुन्तै हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएका थिए। एमएलएसले मेस्सीलाई जरिवाना गराइएको पुष्टि गरे पनि रकम भने खुलाएको छैन। आफ्ना बुबाको निधनपछि पहिलोपटक मैदान उत्रिएका मेस्सीले सुबारू पार्कमा मायामीका लागि दोस्रो गोल गरेका थिए।

उक्त खेलमा सुलिवानसँग झडप गर्नेमा मेस्सी मात्र एक्ला खेलाडी थिएनन्। मायामीका इयान फ्रेलाई पनि एमएलएसले जरिवाना गराएको छ। बक्सभित्र सन्तुलन गुमाएर सुलिवान लडेपछि दुवै खेलाडी जुध्न पुगेका थिए र सो क्रममा फ्रेले सुलिवानको गर्धन समातेका थिए।

उत्तेजित बनेको उक्त खेलको इन्जुरी समयमा मायामीका यानिक ब्राइट र सुलिवानका भाइ क्याभन दुवैले रातो कार्ड पाएका थिए। पुनरवलोकनपछि क्याभनमाथि लगाइएको एक खेलको प्रतिबन्ध भने फुकुवा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖