काठमाडौँ । सर्वोच्च अदालतले बिहीबार नेपाल वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरिदिएको छ ।
उमेर हदको मापदण्ड उल्लंघन गरेको र वरीयता मिचेर नियुक्ति गरिएको ठहर गर्दै अदालतले उनलाई पदमा नरहने गरी आदेश जारी गरेको हो ।
नियुक्तिकै समयमा विवादित बनेको उक्त निर्णय सच्याउन तालुकदार मन्त्रालय तयार नभएपछि प्रकरण न्यायिक परीक्षणमा पुगेको थियो ।
सर्वोच्चको यो फैसलासँगै राष्ट्रिय ध्वजावाहक निगम अहिले नेतृत्वविहीन बनेको छ । यस आदेशले एकातिर नयाँ नियुक्ति प्रक्रिया र निगमको कार्यसञ्चालनमा पर्ने प्रभावबारे चासो बढाएको छ भने अर्कोतिर गैरकानुनी नियुक्ति गर्ने मन्त्रालय र मन्त्री खडकराज पौडेल (गनेस) को नैतिकतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
