काठमाडौ । कांग्रेस सभापति गगन थापालाई निवर्तमान सभापति शेरबहादुर देउवाले भेटका लागि समय दिएका छैनन् । थापाले गत शुक्रबार भेटका लागि देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरी समय मिलाउन आग्रह गरेका थिए।
देउवा आफूनिकट नेताहरूसँग नियमित छलफलमा छन्, तर विशेष महाधिवेशनबाट सभापति चयन भएका थापालाई भने उनले भेटको समय दिएका छैनन् । देउवाले समय मिलाएर भेट्ने बताउँदै आएका छन् । देउवा सर्वोच्चबाट आधिकारिकतासम्बन्धी टुंगो लागेपछि मात्रै विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्ने सोचमा देखिएको उनलाई भेटेका नेताहरू बताउँछन् ।
देउवालाई उनकै निवासमा भेटेका एकता पक्षधर नेता नैनसिंह महरले पार्टी एकताको विषयमा देउवा सकारात्मक रहेको बताए । ‘पार्टीभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा उहाँ सकारात्मक हुनुहुन्छ । उहाँले आफूले मिलाउन पहल गरिरहेको बताउनुभयो । अदालतको निर्णय आएपछि अघि बढौँला भन्नुभएको छ,’ महरले भने ।
देउवा पक्षले थापालाई सभापति स्वीकार गरेको छैन । चुनदेवीस्थित सम्पर्क कार्यालयमा सभापतिकै हैसियतमा देउवाको नेमप्लेट राखिएको छ ।
