काठमाडौँ । भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ।
प्रतिकूल मौसमका कारण हिजो दुई पटक हेलिकप्टर अवतरणको प्रयास असफल भएको थियो। आज भने हेलिकप्टर आयोजना स्थलमा अवतरण गरेसँगै त्यहाँको वास्तविक अवस्था तथा बाढीबाट भएको क्षतिको स्थलगत मूल्याङ्कन सुरु गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कर्मचारीको उद्धार तथा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै काम तीव्र बनाउन निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठको निर्देशनअनुसार घटनास्थलको अवस्था निरीक्षण, उद्धार समन्वय तथा विद्युत् पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ बिहानैदेखि फिल्डमा खटिएका छन्। उनको नेतृत्वमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल र एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणासहितको उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा परिचालित छ।
भोटेकोशी बाढीबाट विद्युत् संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापनाको काम भइरहेको प्राधिकरणले जनाएको छ। सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत नुवाकोटको खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको छ।
नुवाकोटका अन्य प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि गरिएको स्थलगत निरीक्षणका क्रममा ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी सेवा सुचारु गर्न सकिने सम्भावना देखिएको छ। सोहीअनुसार चपली–देवीघाट र बालाजु–त्रिशूली ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी विद्युत् आपूर्ति पुनर्स्थापना गर्न प्राविधिक टोलीले फिल्डमा आवश्यक तयारी तीव्र पारेको छ।
नेपाल विद्युत् प्राधिकरणले उपलब्ध सबै वैकल्पिक प्राविधिक उपाय प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्ने प्रयास जारी राखेको जनाएको छ।
