• Monday 5th of October 2026

त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो


  • धनकुटा खबर
  • .

काठमाडौ । धादिङको गल्छी गाउँपालिका–४ चिरौँदीमा त्रिशूली नदीको बाढीले चार वटा घर बगाएको छ।

आइतबार बिहान रसुवातर्फ भोटेकोशी नदी हुँदै त्रिशूलीमा बाढीको बहाव बढेपछि नदी तटीय क्षेत्रमा रहेका घरहरू बगेका हुन्।

गल्छी–४ का वडाध्यक्ष राजु अधिकारीका अनुसार स्थानीय कर्णबहादुर मगरको पक्की घर तथा रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलका ब्लकले बनेका घर बाढीले बगाएको हो। ती घरहरू यसअघि बुधबार आएको बाढीबाट समेत क्षतिग्रस्त भएका थिए।

बाढीका कारण सोही क्षेत्रमा विष्णुबहादुर मगरको घर पनि जोखिममा परेको छ। यस्तै, नदी तटीय क्षेत्रमा रहेका रामशरण राई र श्यामलाल श्रेष्ठका घरसमेत नदीको बहाव बढेसँगै जोखिममा रहेका छन्।

नदीले गल्छी–४ कै बेल्खु क्षेत्रमा सडकतर्फ समेत कटान गरिरहेको वडाध्यक्ष अधिकारीले जानकारी दिए। स्थानीयलाई सतर्क रहन आग्रह गरिएको उनले बताए।

भोटेकोशीको बहाव बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। रसुवामा बिहान ठूलो बाढीको आवाज सुनिएको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖