• Monday 5th of October 2026

नेपाल नजिक तिब्बतमा पहिरोले बनेको अवरोध ताल पूर्ण रूपमा सुक्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । पहिरोका कारण चीनको सिजाङ स्वायत्त क्षेत्रको जिरोङ काउन्टीमा बनेको अवरोध–ताल पूर्ण रूपमा खाली भएको छ।

चीनको जलस्रोत मन्त्रालयका अनुसार उक्त ताल प्राकृतिक रूपमा बगेर सकिएको हो।

तिब्बतको केरुङ जिल्लामा नेपालतर्फको छोचेन खोला र चीनतर्फको पुरेपु त्साङ्पो नदीको संगम नजिक उक्त बाँधयुक्त ताल बनेको थियो।

बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। त्यतिबेला तालबाट पानी बाहिरिनसमेत थालिसकेको थियो।

मन्त्रालयले पठाएको जलविज्ञानसम्बन्धी आपत्कालीन अनुगमन टोलीको पछिल्लो विवरण उद्धृत गर्दै चीनको सरकारी टेलिभिजन चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)ले शनिबार तालबाट अहिले सामान्य प्राकृतिक प्रक्रियाअनुसार पानी बाहिरिरहेको र जम्मा भएको पानी लगभग पूर्ण रूपमा खाली भइसकेको जनाएको छ।

यसैबीच, बुधबार चीन–नेपाल सीमामा रहेको केरुङ बन्दरगाह क्षेत्रमा गएको भीषण पहिरोमा परी शनिबार साँझ ६ बजेसम्म १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता रहेको तिब्बतको आपत्कालीन व्यवस्थापन विभागले जनाएको छ।

बेपत्ता रहेकामध्ये २६१ जना विदेशी नागरिक रहेको विभागले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖