• Monday 5th of October 2026

चिलिमे, लाङटाङ र त्रिशूली हाइड्रोका टनेलभित्र छिरेर उद्धार प्रयास भइरहेको छ : नेपाली सेना


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनमार्फत खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको जनाएको छ।

सेनाका अनुसार मंगलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको छ। साथै, बाढी आएको समयदेखि विभिन्न जलविद्युत् आयोजनाका क्षेत्रबाट २७९ जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ।

जलविद्युत् आयोजनाका टनेलभित्र फसेकाहरूको खोजीका लागि विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। चिलिमे हाइड्रोको टनेलमा टोलीले करिब ५० मिटरभित्र प्रवेश गरी खोजी गरिरहेको छ।

त्यस्तै, लाङटाङ हाइड्रोको टनेलमा १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोको टनेलमा करिब २०० मिटरसम्म प्रवेश गरी खोजी भइरहेको छ। त्रिशूली–३ ए हाइड्रोको टनेल हेड फेला परेकाले कम्प्रेसरमार्फत टनेलभित्र हावा पठाउने काम भइरहेको सेनाले जनाएको छ।

टनेलभित्रको पानी निकाल्ने कार्यसँगै तीनवटा एक्साभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। टनेलभित्र प्रवेश गर्ने स्थान बनाउन रक ब्रेकर प्रयोग गरी ढुंगा फुटाउने कामसमेत भइरहेको छ।

त्रिशूली–३ बी आयोजनामा पनि विज्ञसहितको नेपाली सेनाको टोलीले टनेलको प्रवेशद्वार पत्ता लगाएर एक्साभेटरमार्फत खन्ने काम गरिरहेको छ।

बाढी आएयता विभिन्न हाइड्रोपावर क्षेत्रबाट उद्धार गरिएका २७९ जनामध्ये रसुवागढीबाट २, माथिल्लो त्रिशूली–१ बाट ३३, माथिल्लो त्रिशूली–३ ए बाट २२१, माथिल्लो त्रिशूली–३ बी बाट २, मैलुङबाट ९, नुवाकोट सौर्य विद्युत्बाट ४, त्रिशूली जलविद्युत्बाट ३ र देवघाट जलविद्युत्बाट ५ जना छन्।

प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउन सेनाले पैदल गस्तीसमेत गरिरहेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा सेनाका ९ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्।

सेनाको टोलीले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारका कामसमेत समन्वयात्मक रूपमा गरिरहेको जनाएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन निसंक्रमणको कामसमेत अघि बढाइएको छ। धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूली, देवघाट तथा नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताल, सुनवल नगरपालिका–४ र मुलपानी सामुदायिक वन क्षेत्रमा औषधि छर्केर निसंक्रमण गरिएको सेनाले जनाएको छ।

अन्य प्रभावित क्षेत्रमा पनि स्थानीय तहसँग समन्वय गरी निसंक्रमणको काम विस्तार गर्ने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖