• Thursday 8th of October 2026

एनआरएनविरुद्ध नै खनिइन् झाँक्री, ‘सिपाही मानसिकता’ देखाएको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंमा जारी एनआरएन महाधिवेशनमा गरेको आक्रामक भाषणले पूर्वमन्त्री रामकुमारी झाँक्री भाइरल भएकी छन् । एनआरएन सम्मेलनमा अतिथि बनेर पुगेकी उनी एनआरएनलाई नै गाली गरेर चर्चामा आएकी हुन् ।

हालैमात्र सरकारले गैरआवासीय नेपालीहरुलाई नेपाली नागरिकता वितरण गर्ने नीतिलाई कार्यान्वयनमा ल्याएको सन्दर्भमा एनआरएन सम्मेलनमा यस विषयमा छलफलको सेसन राखिएको थियो । यस छलफलमा चित्रलेखा यादव, डा. सुर्य पाठक र झाँक्री लगायत प्यानलिस्टका रुपमा निम्त्याइएका थिए ।

छलफलको क्रममा बेलायतबाट आएका एक प्रतिनिधिले सरकारले वितरण गरेको नागरिकताको औचित्यमाथि प्रश्न उठाएका थिए । उनले राजनीतिक अधिकारबिनाको नागरिकता कागजको खोस्टोसरह भएको बताए ।

ती प्रतिनिधिले भनेका थिए, ‘नेपालमा राजनीतिक परिवर्तनका लागि भएका हरेक आन्दोलनमा म र मेरो परिवार सहभागी छौं । हामी रहरले विदेशिएका होइनौं । रहरले नागरिकता त्यागेका होइनौं । अहिले नागरिकता भनेर जुन कागजको खोस्टो बाँडिएको छ, त्यसको कुनै औचित्य छैन । नागरिकता दिनु तर राजनीतिक अधिकार नदिनु भनेको मानव अधिकारको विरुद्धमा हो । यसका लागि भोलि कुल आचार्यले फाँसीको हकदार बन्नुपर्ने हुन सक्छ ।’

उनले यो पनि थपे, ‘कि तपाईंहरू हट्नुस गैरआवासीय नेपालीलाई बोलाउनुस्, अनि देश बनाउन सुरू हुन्छ ।’

अन्य दुई प्रतिनिधिले पनि एनआरएनलाई दिइएको नागरिकतबाारे असन्तुष्टि प्रकट गरेका थिए । त्यसपछि झाँक्रीलाई बोल्न समय दिइएको थियो । आफूले बोल्ने पालो आउँदासम्म झाँक्री निकै आक्रोशमा आइसकेकी थिइन् ।

उनले भाषणको सुरूमै भनिन्, ‘तपाईंहरूजस्तै चिच्याएर जवाफ दिन त आउँथ्यो मलाई । तर, यहाँ अतिथि भएको हुनाले चिच्याउन मिलेन ।’

यद्यपि, झाँक्रीले चिच्याएरै बोलिन् । प्रश्न उठाउनेहरूमाथि उनले निकै कडा जवाफ फर्काइन् । एनआरएनको सातो खाएको भन्दै सामाजिक सञ्जालमा झाँक्रीको वाहवाही भइरहेको छ । यद्यपि, एनआरएनहरूले भने उनको भाषा शैली र प्रस्तुतिलाई लिएर चित्त दुखाएका छन् । खासगरी, ‘रेस्टुरेन्टमा काम गरेर फुर्सद नभएको’ र ‘सिपाही मानसिकता देखाएको’ भन्ने टिप्पणीमा उनीहरूको आपत्ति छ ।

झाँक्रीले नागरिकताको प्रसंगमा एनआरएनहरूमाथि ‘औंलो दिँदा डुँडुलो निल्न खोजेको’ आरोप लगाएकी थिइन् ।

‘पहिले हामी नेपाली विदेश जान के के हर्कत गर्‍यौं ? त्यो देशको आइएलआर अथवा ग्रीनकार्ड पाउन के के हर्कत गर्‍यौं । आफ्नो नागरिकता त्यागेर पासपोर्ट त्यागेर । तपाईंहरूले दुई पैसा कमाउनु भयो होला । स्किल होला र नेपालमा फर्किएर केही गर्नुहोला भनेर आन्दोलनपछि संविधान ल्याएर यो व्यवस्था गरेका हौं । अनि तपाईंहरूले कुल आचार्यलाई फाँसीको कुरा गर्ने ? नागरिकता सबैले लिनैपर्छ भन्ने छैन । लिन नचाहनेले नलिए पनि हुन्छ ।’

झाँक्रीको भनाइका थप अंश यस्ता थिए-
‘ म कान खोलेर सुन्न भन्छु- तपाईंहरूलाई दिइएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हो । भोटिङ राइटको पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन । तपाईंहरू खुशीले नागरिकता त्यागेर गएकाहरूलाई फर्किन इन्भाइट गरेको हो । यहाँ हाम्रो पनि स्वार्थ छ, तपाईंहरूको पनि स्वार्थ छ ।’

‘यहाँ भएको कुराप्रति कृतज्ञता छैन, जहिले पनि धमिलो पानीमा माछा मार्ने, नेपाली राजनीतिक प्रणालीका बारेमा विदेशमा बसेर फेसबुकमा लेख्ने, विषबमन गर्ने, नकारात्मक धारणा दिने, यही हो तपाईंहरूको काम ? तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्टान्डर्ड भाषामा त्यो देशको कर प्रणाली, कानुन र आप्रवासनको बारेमा स्टाटस लेख्नुस् । बिहान जुरुक्क उठेर आँखाको चेप्रा नपुछ्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुपर्‍यो ? यहीँ चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं । यो देशको चिन्ता हामीले गर्छौं । तपाईंहरूले यस्ता कुरा गर्नु सुहाउँदैन ।

‘र, डिग्रीको धाक दिनु पनि पर्दैन । नेपालमा नेपाली भाषा चाहिन्छ । नेपालको डिग्री हामी धेरै मानिसले लिएका छौं । त्यसकारण चित्रलेखा दिदीहरू पनि अयोग्य होइन । त्यसैले यस्तो प्लेनरीमा आएर राम्रोसँग सकिएको कुरालाई यो कागजको खोस्टो, नथिङ एल्स, यो कुल आचार्यहरूलाई फाँसी हुन्छ, यही हो सभ्यता ? के सिक्नुभयो ?’

मानव अधिकार विश्वव्यापी हुन्छ । मानव अधिकार त्यो देशको टेरिटोरीमा संविधानतः प्रदत्त गरिएको हुन्छ । तपाईंहरूलाई नागरिकताको अधिकार दिइएको होइन । तपाईंहरूलाई गैरआवासीय नेपालीको अधिकार दिइएको हो । यति कुरा थाहा पाइराख्नुस् । यहाँ आएर अहिले ठूलो कुरा नगर्नु । तपाईंहरूले आफ्नो खुसीले नेपाली नागरिकता त्यागेको हो । अनि अहिले खुसीले त्यागेको कुरा, तपाईंहरूले केही आर्थिक समृद्धिका काम, केही सीपका काम गर्नुहोला भनेर गरेको हो । अनि यो हामीलाई थाहा छैन र ?’

‘विश्वका यस्ता मुलुक घुमेर, ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो ? बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतङ्ककारी बनाउँदै हुनुहुन्छ । त्यसकारण यो आतंककारी बनाउने बाटोतर्फ नजानुस् । तपाईंहरूले बेलायतमा किन १० वर्षबाट २० वर्ष भयो आईएलआर बनाउन ? त्यहाँ गएर भन्न सक्नुहुन्छ ? बेलायतमा तपाईंको स्टाटस जे हो, आज तपाईंको नेपालमा नेपाली नागरिकता त्यागेपछि त्यही स्टाटस हो मित्र ।

हामीले प्राक्टिकल्ली अलि कम, काम अलि धेरै गर्‍यौं । मैले अदालतमा कम प्राक्टिस गरें । तर कानुन हामीले पनि पढ्यौं । त्यसकारण हरेक देशको सिटिजनसीपसम्बन्धी कानुन त्यो देशको विशिष्टतामा आधारित हुन्छ । नागरिकता र त्यसको अधिकार भनेको ग्लोबल अधिकार होइन । तपाईंले संयुक्त राष्ट्र संघको बडापत्र हेर्नुभयो भने पनि मानव अधिकार विश्वव्यापी हुन्छ । साथी हो, कान खोलेर सुन्नुस् । त्यहाँ तपाईंहरूलाई रेष्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर होला ।

नेपालको कानून कस्तो हुने ? तपाईंको अधिकार होइन, हाम्रो अधिकार हो । नागरिकता त त्यागिसक्नुभएको छ नि तपाईंहरूले । तपाईं ब्रिटिश पासपोर्ट बोकेर आउनेले यो भन्न पाउनुहुन्न । नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्नुहोस् ।

नेपाली नागरिकलाई संविधानप्रदत्त सबै अधिकार छ । संविधानले सबै अधिकारलाई संरक्षण गरेको छ । नेपालीबाहेक गैरनेपालीलाई संविधानले संरक्षण गर्ने कुरा मानव अधिकार र आर्थिक अधिकारको हिसाबले मात्रै गर्छ । त्यसकारण तपाईंहरूको एउटा सोल्जर (सिपाही)को माथि दिमाग नउठेको देखेर म छक्क परें । त्यसकारण यो विषयमा बहस गर्नु चाहिं बेकारको कुरा छ ।

तपाईंहरूले कार्यक्रममा आफ्नो तरक्की देखाउनुभएको हो । यो पनि थाहा छ । यस्ता हल्ला, हजार मान्छे डुलाएर आएकै मान्छै हो हामी । दुई जनाले नारा लगाएर के हुन्छ भन्या ? के हुन्छ यहाँ ? त्यसकारण मैले यति कुरा भनें । र अहिले यो नागरिकता विधेयक पास भइसकेपछि यसलाई स्वागत गर्नुको बदला जे गर्नुभएको छ, यो कुरा तपाईंहरूको आपत्तिजनक छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖