• Monday 5th of October 2026

एमालेले घोषणा गरेको १ करोड २० लाख रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा नगर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि घोषणा गरेको १ करोड २० लाख रुपैयाँ सरकारी राहत कोषमा जम्मा नगरी पार्टीकै संयन्त्रमार्फत राहत वितरण गर्ने भएको छ।

एमालेका महासचिव शंकर पोखरेलका अनुसार पार्टीले घोषणा गरेको सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने छैन। उक्त रकम पार्टीको केन्द्रीय राहत कोषमा जम्मा गरी आवश्यकता अनुसार केन्द्र तथा स्थानीय तहमा उपलब्ध गराइनेछ।

‘प्रदेश अध्यक्ष र इन्चार्जहरूले पार्टीको तर्फबाट बाढीपीडितका लागि सहयोग सञ्चालन गर्नुहुनेछ। यो पार्टी पंक्तिको कार्यक्रम हुनेछ। यसरी उठेको सहयोग पार्टीको केन्द्रीय राहत कोषमा जम्मा हुन्छ। राहत कोषबाट केन्द्र र आवश्यकता अनुसार स्थानीय सरकारलाई उपलब्ध गराउँछौँ,’ पोखरेलले भनेका थिए।

भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव पोखरेलको नेतृत्वमा एमाले टोली भदौ ११ गते नै नुवाकोट पुगेको थियो। टोलीमा विष्णु रिमाल, राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, पार्वत गुरुङ, विनोद श्रेष्ठ र निरज आचार्यलगायत नेता सहभागी थिए।

टोलीले नुवाकोटको विदुर, ढुंगे र त्रिशूली क्षेत्रको स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको थियो। प्रतिवेदनमा विपद् प्रभावित क्षेत्रको वास्तविक अवस्था र सरकारी संयन्त्रबाट भइरहेको राहत तथा उद्धारबीच अन्तर देखिएको उल्लेख गरिएको छ।

प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले केन्द्र सरकारको राहत कोषमा रकम तथा राहत सामग्री जम्मा भए पनि पीडितसम्म प्रभावकारी रूपमा पुग्न नसकेको आरोप लगाए।

‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ तर जनता भोकै छन्। राहत पुग्न पाएको छैन। यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ,’ ओलीले भने।

एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पनि सरकारी कोषमा राहत जम्मा हुने तर पीडितले नपाउने अवस्था अन्त्य गर्न पार्टीकै संयन्त्रमार्फत राहत वितरण गर्ने बताए।

‘सरकारसँग कुनै तिक्तता छैन। सरकार जनताप्रति उत्तरदायी हुनुपर्‍यो। सरकार सरकारजस्तो भएन। त्यसैले हामी पार्टी केन्द्रीय कमान्डमा राहत तथा पुनर्निर्माण गर्छौँ,’ उनले भने।

सरकारले बाढी तथा पहिरोबाट प्रभावित रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिका तथा नुवाकोटका विदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वरलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

त्यस्तै धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिकालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

सरकारले बाढी प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न विभिन्न स्थान तोकेको छ। विदेशबाट हवाईमार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरमा संकलन गरिनेछ।

स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री भने नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गर्ने व्यवस्था गरिएको छ। संकलित सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा पठाइने सरकारले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖