• Monday 5th of October 2026

प्रधानमन्त्रीकाे प्रश्न : हिउँ–चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीलाई हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमको गम्भीर संकेतका रूपमा व्याख्या गरेका छन्।

शाहले मंगलबार फेसबुकमार्फत रसुवाको भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको विज्ञहरूसँगको छलफलबाट जानकारी आएको उल्लेख गरेका छन्। उनका अनुसार पछिल्लो घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै भविष्यमा खेप्नुपर्ने जोखिम थप बढ्दै गएको संकेत गरेको छ।

उनले ‘हिउँ–चट्टान किन खस्यो?’ र ‘यति धेरै पानी कसरी आयो?’ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताएका छन्। मानव सभ्यताले यस्ता विपत्तिको कारण पहिचान गरी त्यसको समाधानतर्फ गम्भीरतापूर्वक अघि बढ्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले विज्ञहरूको भनाइ उद्धृत गर्दै हिमनदीभित्र पग्लिएको पानीका कारण बरफ र पानी दुवै मिसिएर हिमनदीको ठूलो भाग खसेको हुनसक्ने बताएका छन्। उनका अनुसार हिमनदीको एउटा सिंगो भाग ठूलो उचाइबाट उच्च ऊर्जासहित खसेपछि खसेकै स्थानमा पग्लिन सुरु भएको र निरन्तर पग्लिँदै ठूलो बाढीको रूप लिएको हुनसक्ने अनुमान गरिएको छ।

हिमालयको उच्च भूभागबाट नेपालतर्फको भूमि क्रमशः ओरालो रहेकाले बाढीले थप गति लिँदै ठूलो क्षति पुर्‍याएको हुनसक्ने शाहले उल्लेख गरेका छन्।

‘अन्तर्राष्ट्रिय समुदायसमक्ष विषय बलियोसँग उठाउनुपर्छ’
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको उल्लेख गर्दै पछिल्लो विपत्तिको जोखिमसँग जलवायु परिवर्तनको सम्बन्धबारे गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताएका छन्।

जलवायु परिवर्तन विश्वव्यापी योगदानको परिणाम भएकाले त्यसबाट उत्पन्न विपद्को प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हुनुपर्ने उनको भनाइ छ।

शाहले नेपालसहित हिमालय क्षेत्रले जलवायु परिवर्तनका कारण भोग्नुपरेका विपद्का विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा प्रस्तुत गर्नुपर्ने समय आएको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖