काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी प्रस्तावित साङ्गठनिक कार्यतालिका सार्वजनिक गरेको छ।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति तथा वडा तहदेखि केन्द्रसम्मका अधिवेशनको कार्यतालिका प्रस्ताव गरिएको हो।
बैठकमा प्रस्तुत कार्यपत्रअनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते तथा प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन असोज २३ गते गर्ने उल्लेख छ।
त्यसैगरी जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको छ। त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरिएको हो।
यसअघि कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका प्रस्ताव गरिसकेको छ।
यसरी कांग्रेसभित्र महाधिवेशनको मिति र साङ्गठनिक कार्यतालिकालाई लिएर संस्थापन र संस्थापन इतर समूहबीच फरक प्रस्ताव अघि आएका छन्।
