• Monday 5th of October 2026

चीनवाट दोस्रो डीएनए विशेषज्ञ टोली काठमाडौँ आउँदै


  • धनकुटा खबर
  • .

बेइजिङ, १८ भदौ  । चीनले नेपालको आवश्यकतालाई ध्यानमा राखी आपतकालीन राहत सामग्रीको तेस्रो खेप तयार गरिरहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताएका छन्।

 

गुओका अनुसार चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको दोस्रो खेप मङ्गलबार दिउँसो नेपालको राजधानी काठमाडौँ आइपुगेको छ। सोही उडानमार्फत उद्धार तथा पहिचान कार्यमा नेपाली पक्षलाई सहयोग गर्न डीएनए (DNA) पहिचानसम्बन्धी पाँच जना विशेषज्ञहरू पनि आएका छन्।

 

गत अगस्ट २६ मा दुई देशको सीमावर्ती क्षेत्रमा गएको भीषण पहिरोले ठूलो क्षति पुर्‍याएपछि थप आपतकालीन सहायता र प्राविधिक सहयोग उपलब्ध गराएकोमा नेपाली पक्षले चीनप्रति आभार व्यक्त गरेको उनले बताए। नेपालको सीमावर्ती क्षेत्रमा उच्च पहाडी हिमनदी (ग्लेसियर) खस्दा उत्पन्न भएको यस विपद्का कारण दुवैतर्फ ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएका छन्।

 

नियमित पत्रकार सम्मेलनमा बोल्दै गुओले चीनले बेली ब्रिज (अस्थायी पुल), महामारी रोकथामका सामग्री र आपतकालीन सञ्चार उपकरणलगायत राहत सामग्रीको तेस्रो खेप तयार गरिरहेको जानकारी दिए। उनले नेपालको आवश्यकताअनुसार डीएनए पहिचान विशेषज्ञहरूको दोस्रो टोली पठाउन पनि चीन तयार रहेको बताएका छन्।

 

प्रवक्ताले नेपालमा रहेका चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षालाई चीनले उच्च प्राथमिकतामा राखेको र बेपत्ता चिनियाँ नागरिकहरूको खोजीका लागि नेपाली पक्षसँग मिलेर हरसम्भव प्रयास गरिरहेको बताए।

 

विपद् प्रभावित क्षेत्रमा करिब १०० जना चिनियाँ नागरिकको अवस्था अज्ञात रहेको बताउँदै गुओले नेपाली पक्षबाट प्राप्त सहयोगको कदर गरे। साथै, नेपालमा रहेका चिनियाँ नागरिकहरूको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि नेपालले निरन्तर सहयोग गर्ने अपेक्षासमेत व्यक्त गरे।

 

नेपालस्थित चिनियाँ दूतावासले आवश्यक परेका चिनियाँ नागरिकहरूलाई सहयोग पुर्‍याउन हरसम्भव प्रयास जारी राख्ने पनि गुओले थपे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖