• Monday 5th of October 2026

संसद् बैठकमै ढल्नुअघि के भनेका थिए सांसद खड्काले ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले विपद्को समयमा नागरिकको ज्यान जोगाउन आवश्यक परे मित्रराष्ट्र तथा सहयोगी संस्थाबाट सहयोग लिन सरकारले हिचकिचाउन नहुने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खड्काले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरे। बाढी र पहिरोमा परी ठूलो संख्यामा नागरिकको ज्यान गएको तथा अझै धेरै जना बेपत्ता रहेको उल्लेख गर्दै उनले खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिन सरकारसँग माग गरे।

डोटीका दीपक महरा र कीर्ति विष्टलगायत अझै सम्पर्कविहीन रहेको भन्दै खड्काले उनीहरूको तत्काल खोजी गरी परिवारलाई अवस्थाबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए।

‘राज्यको पहिलो कर्तव्य आफ्ना नागरिक बचाउनु हो,’ उनले भने, ‘नागरिक बचाउनका लागि कुनै पनि मित्र राष्ट्र वा सहयोगी संस्थाबाट लिनुपर्ने सहयोगमा सरकारले हिचकिचाहट देखाउनु हुँदैन।’

विपद्बाट सिर्जित पीडा सरकारको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको उल्लेख गर्दै उनले उद्धार, राहत र पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए।

उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी उद्धार तथा राहत कार्य अघि बढाउन सुझाव दिए। साथै राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षलाई साथमा लिएर विपद् व्यवस्थापनमा जुट्न सरकारसँग आग्रह गरे।

यसैबीच, बिहीबारकै प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला सांसद खड्का आफ्नै कुर्सीमा बसिरहेको अवस्थामा एकाएक ढलेका थिए। उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖