काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११औँ दिन नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरको भग्नावशेषबाट ६४ वर्षीया चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको छ।
विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले शनिबार उद्धार गरेको हो।
उद्धारका क्रममा चण्डिका अर्धचेत अवस्थामा भेटिएकी थिइन्। उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि उनलाई काठमाडौँ ल्याइएको नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए।
श्रेष्ठलाई उपचारका लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा भर्ना गरिएको छ।
भदौ १० गते आएको भीषण बाढीले बेत्रावतीसहित नुवाकोट र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढी आएको ११ दिनपछि भग्नावशेषबाट चण्डिका जीवितै उद्धार हुनुलाई उद्धार अभियानकै असाधारण घटनाका रूपमा लिइएको छ।
