काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने भएपछि नेपालबाट जाने प्रतिनिधिमण्डलको तयारी सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक तयारी अघि बढाएका छन्। सरकारले भ्रमण कार्यक्रम औपचारिक रूपमा घोषणा गरिसकेको छैन। तर, परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाह महासभामा सहभागी हुने निश्चित भएको छ।
यसपटक प्रधानमन्त्री शाहले विगतका तुलनामा निकै सानो टोली लिएर अमेरिका जाने तयारी गरिएको छ। प्रधानमन्त्रीको टोलीमा करिब १० देखि ११ जना रहने बताइएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवहरू सुभाष शर्मा र प्रदीप पजियार, फोटोग्राफर विनय शाक्य तथा शिष्टाचार (प्रोटोकल) प्रमुख सहभागी हुनेछन्।
यसअघि नै परराष्ट्रमन्त्री खनालको नेतृत्वमा जाने पाँच सदस्यीय टोलीबारे मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ। उक्त टोलीमा परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, राष्ट्रसङ्घ मामिला हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल सहभागी हुनेछन्।
प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। सम्बोधनभन्दा एक–दुई दिनअघि अमेरिका पुग्ने र सम्बोधनलगत्तै नेपाल फर्कने गरी भ्रमण तालिका बनाइँदै छ। यद्यपि, भ्रमणको मिति र सहभागी हुने व्यक्तिहरूको अन्तिम नामावलीबारे छलफल जारी रहेको मन्त्रालयले जनाएको छ।
यसअघि ७८औँ महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ सदस्यीय टोलीको नेतृत्व गरेका थिए। ७९औँ महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय टोली सहभागी भएको थियो।
८०औँ महासभाका बेला नेपालमा जेनजी आन्दोलन चर्किएको तथा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको व्यस्तताका कारण उच्चस्तरीय टोली सहभागी हुन सकेको थिएन। त्यतिबेला संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर क्षेत्रीले नेपाली टोलीको नेतृत्व गरेका थिए।
८१औँ महासभामा पनि सुरुमा परराष्ट्रमन्त्रीकै नेतृत्वमा नेपाली टोली पठाउने तयारी थियो। तर, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको हिमबाढीपछि प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी हुनेतर्फ अग्रसर भएका हुन्।
प्रधानमन्त्रीस्तरबाटै महासभालाई सम्बोधन गर्दा **जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद् र त्यसको प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गराउन थप प्रभावकारी हुने** सल्लाहपछि शाह अमेरिका जान तयार भएको जानकारहरूको भनाइ छ।
