काठमाडौँ । बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीसमक्ष एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो। टोलीमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेता सहभागी थिए।
केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूलीलगायत नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। बाढीका कारण कैयौँ परिवार विस्थापित भएका छन् भने सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।
राहत हस्तान्तरणका क्रममा महामन्त्री पौडेलले विपद्को अवस्थामा प्रभावित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित आवासको व्यवस्था गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीका तर्फबाट रकम उपलब्ध गराइएको बताए।
उनले बाढीपहिरोका कारण विभिन्न स्थान तथा सुरुङमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।
पौडेलले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन माग गरे। साथै, राहत वितरणलाई पारदर्शी बनाउन र आगामी दिनको विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।
बेपत्ताको खोजी, विस्थापितको पुनर्स्थापना तथा विपद् व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको पौडेलले बताए।
कांग्रेसले यसअघि पनि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य सहयोगका लागि पार्टीका विभिन्न संरचना परिचालन गरेको जनाएको छ।
पार्टी सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव दिने, दबाब तथा ध्यानाकर्षण गराउने काम भइरहेको कांग्रेसले जनाएको छ। सभापति थापा बाढी प्रभावित क्षेत्रको दुईपटक स्थलगत अवलोकनसमेत गरिसकेका छन्।
