*काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएकामध्ये रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ५३३ जना आश्रय लिएर बसेका छन्।
बाढीपछि हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ भने ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये ९८ जनाको सनाखत गरी आफन्तलाई बुझाइसकिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीबाट घाइते तथा प्रभावित गरी हालसम्म ६ हजार ६७२ जनाले उपचार सेवा लिएका छन्। विभिन्न अस्पतालमा उपचाररत ३२३ जनामध्ये २२८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
त्यस्तै, उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेनाका ३ हजार ३७९ जना र सशस्त्र प्रहरीका २ हजार ९७० जनाले समेत स्वास्थ्य उपचार सेवा लिएका छन्।
विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्नुका साथै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका छन्।
भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन्।
प्राधिकरणका अनुसार सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यलाई थप तीव्र पारिएको छ।
