• Monday 5th of October 2026

भोटेकोशी बाढी : चीनमा फसेका ५३६ नेपाली नेपाल फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चीनमा फसेका नेपाली नागरिकहरू क्रमशः नेपाल फर्किन थालेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म तातोपानी नाकाबाट ५३६ जना नेपाली नेपाल फर्किएका छन्।

मन्त्रालयका अनुसार आज थप १०६ जना नेपाली नेपाल फर्किने क्रममा छन्। बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि मन्त्रालयले चिनियाँ अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्।

पछिल्लो चार दिनमा मात्रै चार जनाको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ। माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई नेपाली, त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिक तथा नुवाकोटको बेत्रावतीस्थित एक घरबाट एक नेपाली नागरिकको जीवितै उद्धार गरिएको हो।

मन्त्रालयका अनुसार ३५ देशका करिब ६०० विदेशी नागरिकसहित करिब पाँच हजार जना अझै बेपत्ता छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३५५ शव फेला परिसकेका छन्।

स्वदेशी–विदेशी टोली उद्धारमा परिचालित

प्रभावकारी खोज, उद्धार तथा राहतका लागि स्वदेशी तथा विदेशी विशेषज्ञ टोली परिचालन गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।

भारत, चीन र कोरिया गणतन्त्रका सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेका छन्। संयुक्त अरब इमिरेट्स र मलेसियाका टोलीसमेत खोज तथा उद्धार कार्यमा परिचालित छन्।

माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी र लाङटाङलगायत प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धारका लागि थप उपकरण र प्राविधिक जनशक्ति परिचालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

थप उपकरणका लागि अन्तर्राष्ट्रिय सहयोगको आग्रह

मन्त्रालयले उच्च क्षमताका ड्रोन, लिडार, बेली ब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट, उच्च क्षमताका सर्ज पम्प, प्रयोगशाला फ्रिजर तथा हिलो र सुरुङ उद्धारका लागि आवश्यक विशेष पोसाकलगायत सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

नेपालले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जनाउँदै मन्त्रालयले विपद्को व्यापकता र जटिलताका कारण निरन्तर अन्तर्राष्ट्रिय सहयोग र एकजुटता आवश्यक रहेको जनाएको छ।

भारत, चीन, जापान, सिङ्गापुर र कोरिया गणतन्त्रका फरेन्सिक टोली डीएनए संकलन, विश्लेषण तथा शव पहिचानको कार्यमा समेत संलग्न रहेको मन्त्रालयले जनाएको छ।

विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग प्राप्त भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖