• Monday 5th of October 2026

कृष्णभिरमा सडक खुलाउन ९ वटा मेसिन परिचालन, कहिले खुल्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा खसेको पहिरो पन्छाउने तथा सडक मर्मतको काम तीव्र पारिएको छ। पहिरो पन्छाएर सडकलाई सुरक्षित र दिगो रूपमा सञ्चालनमा ल्याउन ९ वटा ठूला मेसिन परिचालन गरिएको छ।

नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सचेन्द्र मिश्रका अनुसार हाल ६ वटा एक्स्काभेटर, एक बुल्डोजर, एक लोडर र एक जेसिबी प्रयोग गरी काम भइरहेको छ।

उनका अनुसार सडकलाई पुरानै अवस्थामा फर्काउनुका साथै भविष्यमा समेत पहिरोको जोखिम कम हुने गरी डिजाइनअनुसार मर्मत तथा पुनर्निर्माण भइरहेको छ।

सडक पूर्ण रूपमा मर्मत गरी नियमित सञ्चालनमा ल्याउन अझै ६ देखि ७ दिन लाग्न सक्ने इन्जिनियर मिश्रले बताए। उनका अनुसार अहिले ठूलो उचाइमा कटिङ गर्नुपर्ने भएकाले माटो हटाउँदै सडकलाई डिजाइनअनुसार स्थिर बनाउने काम भइरहेको छ।

पहिरोको जोखिमलाई ध्यानमा राख्दै यसपटक जियोटेक सोसाइटीको प्राविधिक सल्लाह र डिजाइनअनुसार काम भइरहेको छ। पहिरो नियन्त्रण तथा सडकको सुरक्षा मजबुत बनाउन सिट पाइल, माइक्रो पाइल, ड्रेनेज तथा वाटर म्यानेजमेन्टलगायतका प्रविधि प्रयोग गरिने मिश्रले जानकारी दिए।

पहिलो चरणमा कटिङ गरेर सडकलाई डिजाइन लेभलमा पुर्‍याउने र त्यसपछि सिट पाइल राख्ने, ग्राभेल गर्ने तथा सडकको संरचना निर्माण गर्ने काम अघि बढाइनेछ।

माथिबाट पहिरो खस्ने तथा तलबाट जमिन भासिने जोखिमलाई न्यूनीकरण गर्न नियमित रूपमा भौगर्भिक अवस्था अनुगमन भइरहेको आयोजनाले जनाएको छ।

ठूलो परिमाणमा थुप्रिएको माटो हटाउनुपर्ने र भौगोलिक बनावट जटिल रहेकाले काममा केही चुनौती भए पनि आवश्यक सुरक्षाका उपाय अपनाएर मर्मत कार्य अघि बढाइएको आयोजनाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖