काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलनका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गौतमले सरकारप्रति विश्वास राख्न आग्रह गरिन्। उनले आन्दोलनसँग जोडिएका मागहरूबारे सरकारमा रहेका मन्त्री तथा सांसदहरूबीच निरन्तर छलफल भइरहेको जानकारी दिइन्।
उनले भनिन्, “यो स्मृति दिवसमा हामी सबैले सङ्कल्प गर्नुपर्छ कि २३ गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्, कोही आमाले पनि भोग्न नपरोस्, कोही परिवारले पनि भोग्न नपरोस्।”
मन्त्री गौतमले शहीद तथा घाइतेका माग धेरै रहेकाले तिनको सम्बोधनका लागि सरकारभित्र दैनिकजसो छलफल र सरसल्लाह भइरहेको बताइन्। सरकारको संरचनाभित्र काम गर्ने तौरतरिका बुझ्न केही समय लागेको स्वीकार गर्दै उनले आन्दोलनका पीडितको पीडा आफूहरूले पनि महसुस गरेको बताइन्।
गत वर्ष भदौ २३ गते लोकतन्त्रमा समेत नागरिकमाथि गोली चलेको स्मरण गर्दै उनले अब त्यस्तो घटना दोहोरिन नहुने बताइन्। भ्रष्टाचार र सुशासनविरुद्ध आवाज उठाउँदा नागरिकमाथि गोली चलाइएको उनको भनाइ थियो। भदौ २३ गते राज्यले गरेको दमनकै कारण भदौ २४ गतेको घटना निम्तिएको उल्लेख गर्दै उनले दुवै दिनका घटनालाई एउटै रूपमा हेर्न नहुने धारणा राखिन्।
जेन–जी समुदायभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसबाट फाइदा उठाउन सक्ने भन्दै मन्त्री गौतमले शहीद परिवार, घाइते तथा आन्दोलनकारीलाई एकताबद्ध हुन आग्रह गरिन्।
“हामी एकआपसमै लड्न थाल्यौँ, एकआपसमै दोषारोपण गर्न लाग्यौँ भने विरोधीहरूले स्पेस पाउँछन्। त्यसकारण सही मान्छेहरू एक ठाउँमा उभिइरहनुपर्छ,” उनले भनिन्।
आन्दोलनपछिको निर्वाचनमार्फत जनताले आफ्नो नेतृत्व रोजेकाले वर्तमान सरकार नागरिकको आवाज सुन्न तयार रहेको उनले बताइन्। सरकार गठन भएको करिब पाँच महिनामा सरकार सञ्चालन सहज नभएको उल्लेख गर्दै उनले प्रतिनिधिसभामा पर्याप्त संख्या भए पनि संवैधानिक संरचनाका कारण कानुन निर्माणमा चुनौती रहेको स्पष्ट पारिन्।
माग सम्बोधनमा ढिलाइ हुँदा पीडित तथा आन्दोलनकारीको धैर्य टुट्न सक्ने सम्भावना रहेको स्वीकार गर्दै उनले सरकारले सफा नियतका साथ काम गरिरहेकाले संयम अपनाउन आग्रह गरिन्।
“यो सरकार सफा नियतसहित आएको छ। हाम्रा शहीद र घाइते साथीहरूले देखेका हरेक सपनाहरू पूरा गर्न यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। यो सरकारमाथि विश्वास राखौँ, यो सरकारले गर्छ,” मन्त्री गौतमले भनिन्।
